काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गर्नुभएको छ ।
मंगलबार काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उर्जा क्षेत्रको विकास नगर्दा नेपाली जनताको लगानी डुब्ने मात्रै नभइ नेपालीहरूको सपना पूरा नहुने समेत बताउनु भयो ।
खोलाको लाइसेन्स लगानी गर्नसक्नेलाई दिएको हो वा नसक्नेलाई भन्नेबारेको हिसाब किताब पनि आफूले खोज्ने उहाँले बताउनु भयो । एउटा व्यक्तिलाई योजनाहरूको लाइसेन्स थुपारिदिँदा अन्य उर्जा उत्पादन गर्न खोज्नेहरूले योजना नपाइरहेको उहाँले बताउनु भयो ।
आज दर्जनौँ परियोजनाहरू एउटा विशेष कम्पनीको नाममा, व्यक्तिका नाममा दर्ता गराइएको र उनीहरूले लगानी नगरिरहेको परिस्थिति रहेको उहाँकाे भनाइ छ । यो अवस्थाको अन्त्य गर्न छुट्टै नीति ल्याउनुपर्ने उहाँले बताउनु भयो ।
उपमहासचिव शर्माले विद्युत खरिद गरेर देश समृद्ध बन्ने नभइ विद्युतको खपतबाट मात्रै देश समृद्ध बन्ने बताउनु भयो । जलाशययुक्त आयोजना सरकारले बनाउनुपर्ने उहाँले बताउनु भयो ।
समय बितिसकेपछिको उर्जा उत्पादनको अर्थ नरहने पनि उहाँले बताउनु भयो । कानूनमा कडाइ गरेर र लगानी कर्तालाई सताएर देशको विकास हुन नसक्ने उहाँकाे भनाइ छ ।