काठमाडौं । भारतविरूद्धको तेस्रो टेस्ट घरेलु टिम इंग्ल्यान्डले २२ रनले जितेको छ ।
अन्तिम इनिङ्समा एक सय ९३ रनको लक्ष्य पाएको भारत एक सय ७० रनमा अलआउट भयो । लर्डस्मा अन्तिम विकेटका लागि आएका मोहमम्द सिराज चार रनमा बोल्ड भएसँगै भारतको सबै आशा सकिएको थियो ।
पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले खेलमा सानदार सुरूआत गरेको थियो । उसले एक सय १२ ओभर तीन बलमा तीन सय ८७ रन बनाएको थियो । सो इनिङ्समा घरेलु टोलीका लागि जो रूटले सर्वाधिक एक सय ४ रन बनाए । उनले एक सय ९९ बल सामना गरेका थिए ।
त्यस्तै, बेन स्ट्रोक्सले ४४, ज्यामी स्मिथले ५१ रन बनाए भने ब्रेडन क्रेजले ५६ रनको योगदान गरे । भारतका लागि जसप्रित बुमराहले सर्वाधिक पाँच विकेट लिए । संयोगबस् भारतले पनि आफ्नो पहिलो इनिङ्समा तीन सय ८७ रन नै बनायो ।
यसक्रममा ओपनर केएल राहुलले एक सय ७७ बलमा शतक प्रहार गरेर आउट भए । त्यसैगरी ऋषभ पन्तले ७४ तथा रविन्द्र जडेजाले ७२ रनको योगदान गरे । यो इनिङ्समा इंग्ल्यान्डका लागि क्रिस वोक्सले तीन विकेट लिए ।
पहिलो इनिङ्स सकिँदा खेल रोमाञ्चक बराबरीको अवस्थामा पुगेको थियो । तर, इंग्ल्यान्डको दोस्रो इनिङ्स निकै कमजोर भयो । बेन डकेट १२ रनमा आउट भएपछि घरेलु टिमको सुरूआत कमजोर भयो । वाशिङ्टन सुन्दर, बुमराह र सिरजको बलिङ धारिलो बन्दा कुनै खेलाडीले अर्धशतक समेत बनाउन सकेनन् ।
यससँगै इंग्ल्यान्ड एक सय ९२ रनमा अलआउट भयो । एक सय ९३ रनको लक्ष्य पछ्याएको भारत ६२ ओभर एक बलमै अलआउट भयो । जितसँगै पाँच खेलको टेस्ट सिरिजमा घरेलु टिम इंग्ल्यान्डले २-१ को अग्रता बनाएको छ ।
जारी सिरिजमा इंग्ल्यान्डको यो दोस्रो जित हो । पहिलो खेलमा इंग्ल्यान्ड पाँच विकेटले विजयी भएको थियो भने दोस्रो खेल भारतले तीन सय ३६ रनको फराकिलो अन्तरले जितेको थियो । अब तेस्रो खेल २३ जुलाइमा सुरु हुनेछ ।