मन्त्री गुप्ताले दिए राजीनामा

आफूमाथिका आराेपको अनुसन्धान गरी सत्थतथ्य बाहिर ल्याउन सहयोग गर्ने भनाइ
असार ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । घुस मोलमोलाइसम्बन्धी प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको छ ।

मन्त्री गुप्ताले सामाजिक सञ्जालबाट राजीनामा दिएको सार्वजनिक गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनुभएको छ ।

गुप्ताले विगत केही दिनदेखि निरन्तर आफ्नो नाममा घुस प्रकरणमा जोडेर प्रचार गरेको भन्दै कहिलेकाहीँ नखाएको विष पनि लाग्ने र आफू त्यसको सिकार भएको उल्लेख गर्नुभएको छ । लागेका आरोपको अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा गरेको उहाँको भनाइ छ ।

साथै मन्त्री गुप्ताले आफू प्रविधिको प्रयोगको सिकार भएकोसमेत दाबी गर्नुभएको छ । अब देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको काम पूरा गर्ने प्रतिबद्धता सहित जनताको घरदैलोमा जाने उहाँले उल्लेख गर्नुभएको छ । 

यो प्रकरण सतहमा आएपछि मन्त्री गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर हिजो सोधपुछ गर्नुभएको थियो । भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी मोलमोलाई गरेको अडिओ सार्वजनिक भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.