काठमाडौं । अस्ट्रेलियाविरूद्ध किंग्सटनमा भएको तेस्रो टेस्ट खेलको चौथो इनिङ्समा वेस्ट इन्डिज २७ रनमा समेटिएको छ ।
यो टेस्ट क्रिकेटको इतिहासमा दोस्रो कम कुल योगफल हो । यसअघि सन् १९५५ मा न्युजील्यान्ड, इंग्ल्यान्डविरूद्ध २६ रनमै अल आउट भएको थियो । यससँगै घरेलु टिम एक सय ७६ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
उक्त स्कोर वेस्ट इन्डिजको टेस्ट इतिहासमै सबैभन्दा कम हो । सन् २००४ मा इंग्ल्यान्डविरूद्ध यही मैदानमा वेस्ट इन्डिजले ४७ रन जोडेको थियो । दुबै इनिङ्समा जम्मा १ सय ७० रन मात्र जोड्न सकेको वेस्ट इन्डिजको यो प्रदर्शन कुनै पनि टेस्ट खेलमा दुईपटक अलआउट हुँदा बनेको अहिलेसम्मकै न्यूनतम रन हो ।
यसअघि सन् १९५७ मा द ओभलमा इंग्ल्यान्डविरूद्ध १ एक सय ७५ रन बनाएको थियो । वेस्ट इन्डिजले दोस्रो इनिङ्स १४ ओभर ३ बलमा समाप्त गर्यो । यो टेस्ट क्रिकेटको इतिहासमा तेस्रो सबैभन्दा छोटो इनिङ्स हो ।
यसभन्दा कम ओभरमा आउट हुने टोलीहरूमा दक्षिण अफ्रिका र श्रीलंका छन् । सन् १९२४ मा दक्षिण अफ्रिका १२ दशमलव ३ ओभरमा इंग्ल्यान्डविरूद्ध ३० रनमा समेटिएको थियो भने सन् २०२३ मा श्रीलङ्का दक्षिण अफ्रिकाविरूद्ध १३ दशमलव ५ ओभरमा समेटिएको थियो ।
यता गएराति दोस्रो इनिङ्समा वेस्ट इन्डिजका सात खेलाडी शून्य रनमा आउट भए । जुन टेस्ट क्रिकेटमा पहिलोपटक भएको हो । यसअघि अधिकतम ६ डक भएको नौ वटा घटना थिए ।
अस्ट्रेलियाका मिशेल स्टार्कले दोस्रो इनिङ्समा ५ विकेट लिदा मात्र १५ बल खर्चिए । यो टेस्ट क्रिकेट इतिहासमै सबैभन्दा छिटो पाँच विकेट लिने कीर्तिमान हो । उनले १९ बलमा ५ विकेट लिने अर्नी टोशाक, स्टुअर्ट ब्रड र स्कट बोल्यान्डको संयुक्त कीर्तिमान भंग गरेका छन् ।
खेलभर वेस्ट इन्डिज र अस्ट्रेलियाले जम्मा ५ सय १६ रन जोडे, जुन पुरूष टेस्ट क्रिकेटमा सातौं सबैभन्दा कम संयुक्त रन हो ।