काठमाडौं । साफ अन्डर २० च्याम्पियनसिपमा मंगबालर साँझ नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
ढाकाको बसुन्धारा किंग्स एरिनामा हुने खेल नेपाली समय अनुसार पौने ७ बजे सुरू हुनेछ। साफमा विजयी सुरूआत गरेको नेपालले दोस्रो खेलमा ३-२ को हार ब्यहोरेको थियो।
त्यसैले नेपालले अबका सबै खेल जित्नु पर्ने दबाब छ। उपाधिको लक्ष्यसहित बंगलादेश गएको भए पनि नेपालले घरेलु टिमविरूद्ध रवाफिलो प्रदर्शन गर्न सकेको थिएन्। पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको नेपालले दोस्रो खेलमा हार ब्यहोरेपछि अंकतालिकामा नेपालको तीन अंक मात्रै छ।
आयोजक बंगलादेशले दुई खेल जितेर ६ अंक बनाएको छ। यता श्रीलंका भने अहिलेसम्मका दुवै खेलमा पराजित भएको छ। जारी साफमा सहभागी चार टिममध्ये सबैभन्दा कमजोर श्रीलंका नै देखिएको छ।
उसले अघिल्लो खेलमा बंगलादेसँग ९-१ र भुटानसँग ५-० को हार ब्यहोरेको थियो। त्यसैले आज नेपाल पनि श्रीलंकालाई फराकिलो अन्तरले हराएर गोलअन्तरमा अघि रहने योजनामा छ। नेपाललाई उपाधि सम्भावना कायम राख्न पनि फराकिलो जित आवश्यक हुन्छ।
नेपालका लागि अहिलेसम्म पुर्णीमा राईले सर्वाधिक चार गोल गरेकी छन्। सेनु परियार, अनिशा राई र मिना देउवाले एक एक गोल गरिसकेका छन्। यता श्रीलंकाका लागि भने अहिलेसम्म जसोथारानले मात्रै गोल गरेकी छन्।