काठमाडौं । लस एन्जलस-२०२८ ओलम्पिक आयोजकले सोमबार प्रतियोगिताको तालिकाको पहिलो झलक सार्वजनिक गरेका छन् ।
सार्वजनिक गरिएको पहिलो झलकमा प्रमुख खेलहरूलाई नयाँ ढंगले पुनः क्रमबद्ध गरिएको छ र अहिलेसम्मकै सबैभन्दा महत्वाकांक्षी खेल तालिका बनाएको जानकारी दिएको छ ।
प्रतियोगिताको ठिक तीन वर्ष बाँकी रहेको उपलक्ष्यमा तालिकाको पहिलो झलक सार्वजनिक गरिएको हो । ओलम्पिकको उद्घाटन समारोह सन् २०२८ जुलाई १४ मा एलए मेमोरियल कोलोसियम र सोफी स्टेडियममा संयुक्त रूपमा आयोजना हुनेछ ।
समापन समारोह जुलाई ३० मा कोलोसियममै हुनेछ । यो ओलम्पिकमा पहिलोपटक एथ्लेटिक्स खेलहरू प्रतियोगिताको पहिलो सातामा हुनेछन् भने पौडी दोस्रो साता आयोजना गरिनेछ ।
त्यस्तै, भेनिस बीचमा हुने ट्रायथलनबाट पहिलो स्वर्ण पदक प्रदान गरिनेछ भने म्याराथन पनि अन्तिम साता हुनेछ । १६ वटा टिम फाइनल र १९ व्यक्तिगत फाइनलसहित १५औँ दिन सबैभन्दा व्यस्त हुनेछ । आयोजकले आगामी केही महिनामा विस्तृत तालिका सार्वजनिक गर्ने जनाएको छ ।
यसैबीच, आयोजकले प्ले एलए बाल तथा युवा खेलकुद कार्यक्रममा १० लाखभन्दा बढी सहभागिता भएको सफलतालाई ओलम्पिकको पूर्वतयारीसँग जोड्दै खुसी व्यक्त गरेका छन् ।
ओलम्पिक आयोजना गर्दा सहरका सबै क्षेत्रको प्रतिनिधित्व हुने र ऐतिहासिक विरासत निर्माण गरिने लस एन्जलसका मेयर करेन बासले बताएकी छन् । अमेरिकामा करिब तीन दशकपछि ओलम्पिक फर्किएको हो । यसअघि लस एन्जलसमा सन् १९३२ र १९८४ मा ओलम्पिक आयोजना भएको थियो ।