विम्बल्डनमा जोकोभिचको सयौं जित

असार २२, २०८२ |खेल ब्युरो
विम्बल्डनमा जोकोभिचको सयौं जित

काठमाडौं । सात पटकका च्याम्पियन नोभाक जोकोभिचले विम्बलडनमा एक सयौं जित दर्ता गरेका छन् । तेस्रो चरणको खेलमा आफ्नै देशका मियो मिर केच-मानोभिचलाई सोझो सेटमा पराजित गर्दै एक सयौं जितको आकडा पार गरेका हुन् ।

यस प्रतियोगितामा पुरूषतर्फ रोजर फेडेररले सर्वाधिक १ सय ५ खेल र महिलातर्फ मार्टिना नाभ्राटिलोभाले सर्वाधिक १ सय २० खेल जितेका छन् । जोकोभिच विम्बलडनमा एक सय खेल जित्ने तेस्रो खेलाडी बनेका छन् ।

यससँगै केबल १ घण्टा ५० मिनेटमा ६-३, ६-० र ६-४ को नतिजा हात पारेका सर्वियन स्टार जोकोभिच चौथो चरणमा प्रवेश गरेका छन् । खेल जितेपछि ३८ वर्षीय जोकोभिचले कोर्टमै छोरीसँग उत्सवस्वरूप नृत्य प्रस्तुत गरेका थिए । जुन यसपटकको प्रतियोगिताभर उनको ट्रेडमार्कजस्तै बनेको छ।

अब जोकोभिच चौथो चरणमा अस्ट्रेलियाका ११औं वरीयता प्राप्त अलेक्स डि मिनउरविरूद्ध भिड्ने छन् । सम्भावित सेमिफाइनल भिडन्त भने विश्व नम्बर १ यानिक सिन्नरसँग हुनसक्ने अनुमान गरिएको छ ।

जोकोभिचले २०१७ यता विम्बलडनमा कार्लोस अल्काराजबाहेक कुनै खेलाडीसँग हार बेहोरेका छैनन् । यदी उनले यसपटक उपाधि जिते कीर्तिमानी २५औं ग्रान्डस्ल्याम उपाधि हुनेछ । २०२३ को युएस ओपनपछि उनले कुनै पनी ग्रान्ड स्ल्याम जित्न सकेका छैनन् ।