संयुक्त राष्ट्रसंघद्वारा इरानले खाडी राष्ट्रमाथि गरिरहेको आक्रमणको भर्त्सना

फाल्गुन २८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
संयुक्त राष्ट्रसंघद्वारा इरानले खाडी राष्ट्रमाथि गरिरहेको आक्रमणको भर्त्सना

काठमाडौँ । संयुक्त राष्ट्रसंघले इरानले खाडी राष्ट्रमाथि गरिरहेको आक्रमणको भर्त्सना गरेको छ । यूएईले राष्ट्रसंघमा दर्ता गराएको प्रस्तावमा इरानले यूएई, अन्य खाडी सहकार्य परिषद् (जीसीसी) का सदस्य राष्ट्र तथा जोर्डनमाथि अवैध रूपमा मिसाइल र ड्रोन आक्रमण गरेको उल्लेख छ । यस्तो कदम तत्काल रोक्न पनि माग गरिएको छ ।

संयुक्त राष्ट्रसंघका लागि यूएईका स्थायी प्रतिनिधि मोहम्मद अबुशाहाबले आफ्नो देशमा भएका आक्रमणबारे संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई जानकारी गराउनुभएको छ । उहाँले खाडी समन्वय परिषद् (जीसीसी) का सदस्य देशहरू र जोर्डनमाथि भएका आक्रमणको पनि निन्दा गर्नुभएको छ ।

अबुशाहाबका अनुसार यूएईका सहर र महत्त्वपूर्ण पूर्वाधारलाई निसाना बनाइएको छ । यस पीडादायी घडीमा आफ्ना जनताले देशको धैर्य र दृढताको पनि उहाँले तारिफ गर्नुभयो ।

यूएईले इरानमाथि आक्रमणका लागि आफ्नो भूगोल वा आकाश प्रयोग गर्न नदिने अडान लिए पनि इरानले आक्रमण गर्नु अन्यायपूर्ण रहेको उहाँको तर्क छ । अन्तर्राष्ट्रिय कानुनले मान्यता दिएको आत्मरक्षाको अधिकार प्रयोग गरी आफ्नो भू–क्षेत्र, नागरिक र महत्वपूर्ण पूर्वाधार जोगाउन आवश्यक कदम चालिने उहाँको प्रतिबद्धता छ ।