
काठमाडौँ । दुर्गा प्रसाईंका सहयोगी रवि रत्न चुडाललाई प्रहरीले पक्राउ गरेको छ । चुडाललाई बिहीबार प्रहरीले काठमाडौँ सुकेधारा क्षेत्रबाट पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले प्रसाईंनिकट मानिने चुडाललाई पक्राउ गरिएको जानकारी दिनुभयो । सामाजिक सञ्जालमार्फत विवादित अभिव्यक्ति दिएको विषयमा अनुसन्धानका लागि चुडाललाई पक्राउ गरिएको खड्काले बताउनुभयो ।
पक्राउ परेका चुडालले झापा क्षेत्र नम्बर ५ बाट पराजित एमाले अध्यक्ष केपी ओली र सो क्षेत्रका मतदातालाई लक्षित गरी सामाजिक सन्जालमा विवादास्पद अभिव्यक्ति दिएको आरोप छ । चुडालविरूद्ध धरान प्रहरीमा साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी रहेको छ ।
चुडालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । “अहिले हिरासतमा राखेर अनुसन्धान थालेका छौँ,” खड्काले भन्नुभयो । चुडाल आफूलाई प्रसाईंको भान्जा रहेको बताउने गरेका छन् ।