आधा सिलिन्डर ग्यास बिक्री गर्ने अवस्थामा किन पुग्यो सरकार ?

फाल्गुन २८, २०८२ |सुमन पन्थ
आधा सिलिन्डर ग्यास बिक्री गर्ने अवस्थामा किन पुग्यो सरकार ?

काठमाडौँ । नेपाल आयल निगमले गत माघदेखि नै सुरु भएको ग्यास अभावको समस्या तत्कालका लागि सम्बोधन गर्न आधा सिलिन्डर भरेर बिक्री गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ । महिनौँसम्म ग्यास नपाएर उपभोक्ताका चुलोसमेत बल्न छाडेको भन्दै चर्को आलोचना हुन थालेपछि निगम हतार-हतार यस्तो निर्णयमा पुगेको हो । 

आधा सिलिन्डर ग्यास बिक्री गर्ने अवस्थामा किन पुग्यो सरकार ?

उपभोक्ताले गत माघदेखि खाना पकाउने ग्यास अभाव झेल्दै आएकोमा पश्चिम एसिया तनाव चर्कंदै जाँदा अभाव झनै गहिरियो । विशेषगरी गत मंसिरमा नेपालमा ग्यास आपूर्ति गर्ने भारतीय आयल निगमका रिफाइनरीहरूको मर्मत चलेका कारण बजारको माग अनुसारको आपूर्ति हुनै सकेन । अहिले फेरि उपभोक्ता ग्यासको जोहोमा लाग्दा माग अनुसार निगमले आपूर्ति गर्नै सकिरहेको छैन ।

उद्योग मन्त्रालयले बिहीबार राखेको सर्वपक्षीय बैठकमा उद्योगी व्यवसायीहरूले बजारमा एक करोड ५० लाखभन्दा धेरै सिलिन्डर रहेको बताएका थिए । यी सबै सिलिन्डर एकैपटक बाहिर आउँदा माग धान्न नसक्ने देखेपछि सरकारले आधा सिलिन्डर दिएर अभाव तत्काल सम्बोधन गर्ने प्रयास गरेको हो ।

आयल निगमले प्रत्येक महिना ४६ देखि ४७ हजार टन ग्यास आपूर्ति भइरहेको जनाएको छ । पश्चिम एशियामा तनाव भए पनि भारतीय आयल निगमले अहिलेसम्म नेपालले मागे अनुसार नै आपूर्ति गरिरहेको निगमको दाबी छ ।

पश्चिम एशिया तनाव लम्बिएको अवस्थामा भारतीय आयल निगमले कोटा तोक्ने हो कि भन्ने चिन्ता वाणिज्य मन्त्रालयका अधिकारीहरूको छ । यता निगमले पनि इन्धनको परनिर्भरता भन्दा विद्युत्‌को खपत बढाउनुपर्ने विषयमा अघि बढ्न मन्त्रालय र नागरिकलाई समेत सुझाव दिँदै आएको छ ।

सरकारले हरेक महिना मागअनुसारको आपूर्ति भइरहेको दाबी गरे पनि बजार नियमनमा भएको लापरबाहीले झनै अभाव बढायो । ५९ वटा उद्योग भए पनि मागअनुसार आपूर्ति भएन । चुनावपछि बल्ल दैनिक कति ग्यास बिक्री भयो भन्ने विवरण उद्योगीसँग माग्न थालिएको छ । महिनौँ ग्यास नपाउने समस्या चर्किएपछि सरकारले हतारमा आधा सिलिन्डर ग्यास बाँड्ने उपाय अपनाएर उम्कन खोजेको छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।