काठमाडौं । नेपाल अपराजित रहँदै एसीसी पुरुष अन्डर १६ इस्ट जोन कपको च्याम्पियन बनेको छ । मलेसियाको बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा आज भएको फाइनलमा सिंगापुरलाई दुई विकेटले हराउँदै नेपाल चौथो पटक च्याम्पियन बनेको हो ।
फाइनलमा सिङ्गापुरले दिएको १ सय १४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा पूरा गर्दै जित हात पारेको हो ।
नेपालले अन्डर सिक्सिटिन इस्ट जोन कपमा सन् २०१७, २०१९ र २०२३ मा समेत उपाधि जितेको थियो। सन् २०१७ मा पनि नेपालले उपाधि जित्ने क्रममा फाइनलमा सिंगापुरलाई नै हराएको थियो।
आज टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुरले ४० ओभर ५ बल मा सबै विकेट गुमाएर १ सय १३ रन मात्र बनाउन सक्यो । इनिङ्सको दोस्रो बलमै आहान बुथान्दमलाई डकआउटमा गुमाएको सिङ्गापुरका लागि रोहन अस्टिन अरुणले सर्वाधिक २३ रनको योगदान गरे । कप्तान रियान नाइकले १५ रन बनाए ।
अन्तिम विकेटका रुपमा आकाश तेजा र वेदांश गुप्ताले २५ रनको साझेदारी गरेपछि सिङ्गापुरले एक सय रनको आकडा पार गरेको थियो । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सिङ्गापुरलाई रोक्न नेपालका लागि सुशील रावल र अभय यादवले समान ३-३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान विपीन शर्माले १ विकेट लिए ।
जवाफमा नेपालले पनि राम्रो सुरुआत गर्न सकेन् । ओपनर परिमार्जन यादव १३ रन बनाएर बाहिरिए भने अर्का ओपनर प्रसिद्ध जैसीले १७ रनको मात्रै योगदान गर्न सके। दुई विकेट गुमाउँदा ४० रन बनाएको नेपालले त्यसपछि पनि विकेट जोगाउन सकेन ।
रौनक श्रीवास्तव शून्य र सुगम बुढाथोकी एक रनमा आउट भएका थिए। तर शिवान्स बजगाईँले २० रन जोडेर नेपाललाई प्रतिस्पर्धामा कायम राखेका थिए।
यद्यपी पाँच विकेट गुमाउँदा नेपाल ५८ रन मात्रै बनाएको कमजोर अवस्थामा थियो । नेपालका ८ नम्बरमा सचिन भट्ट एक र कप्तान विपिन शून्यमा बाहिरएपछि नेपालको ब्याटिङ धरासायी अवस्थामा पुगेको थियो ।
८ विकेट गुमाएको अवस्थामा नेपाललाई जितका लागि २२ रन आवश्यक थियो । अन्तिममा जोय थापाले अविजित २४ रन बनाए। अभय यादवले २९ औं ओभरको अन्तिम बलमा छक्का प्रहार गरेर नेपाललाई जित दिलाएका हुन् ।
सिंगापुरका कपिश वेङ्कट-रमनले ६ ओभरमा १८ रन मात्रै खर्चिएर चार विकेट लिए । उनले नेपालको शीर्ष क्रमका महत्वपूर्ण विकेट लिएका थिए । युवन पाण्डेले पनि दुई विकेट आफ्नो नाममा गरेका थिए ।