डिफेन्डिङ च्याम्यिन अल्काराज विम्बल्डनको चौथो चरणमा, ब्रिटिस नम्बर एक राडुकानुको यात्रा अन्त्य

असार २१, २०८२ |खेल ब्युरो
डिफेन्डिङ च्याम्यिन अल्काराज विम्बल्डनको चौथो चरणमा, ब्रिटिस नम्बर एक राडुकानुको यात्रा अन्त्य

काठमाडौं । डिफेन्डिङ च्याम्यिन कार्लोस अल्काराज विम्बल्डन ग्रान्ड स्ल्याम टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । गएराति सम्पन्न खेलमा स्पेनिस स्टार अल्काराजले जर्मनीका यान-लेनार्ड स्ट्रफलाई पराजित गर्दै चौथो चरणमा स्थान बनाएका हुन् ।

लगातार तेस्रो उपाधिको यात्रालाई जीवित राख्ने क्रममा स्पेनिस खेलाडीले केही दबाबपूर्ण क्षण पार गर्दै ६-१, ३-६, ६-३ र ६-४ को जित दर्ता गरे ।

पहिलो सेट सहजै जितेका अल्काराजले दोस्रो सेटमा स्ट्रफको धारिलो सर्भिसको सामना गर्न सकेनन् । तर तेस्रो सेटमा तीन डबल फल्टको फाइदा उठाउँदै ब्रेक गरे र लय समाते । 

चौथो सेटमा पनि केही ब्रेक पइन्ट जोगाउँदै ४-४ मा महत्त्वपूर्ण ब्रेक निकाले । अब विश्व नम्बर २ अल्काराजले क्वार्टरफाइनल प्रवेशका लागि चौधौँ वरीयताका आन्द्रे रूबलेभसँग भिड्नेछन् । रूबलेभले फ्रान्सका एड्रियन मानारिनोलाई ७-५, ६-२, ६-३ ले हराएका थिए ।

त्यस्तै, अमेरिकी खेलाडी टेलर फ्रिट्ज पनि चौथो चरणमा प्रवेश गरेका छन् । उनले डेविडोभिच फोकिनालाई ५ सेटमा हराउँदै अघिल्लो चरणमा प्रवेश गरेका हुन् ।

ब्राजिलका किशोर जोआओ फोन्सेका भने दक्षिण अमेरिकी भिडन्तमा चिलीका निकोलस जार्रीसँग ४ सेटमा पराजित भए । जार्रीले अब बेलायतका क्यामेरोन नोरीसँग प्रस्पर्धा गर्नेछन् । नोरी प्रतियोगितामा बाँकी रहेका एक्ला घरेलु पुरूष खेलाडी हुन् ।

यसैबीच, ब्रिटिस नम्बर एक खेलाडी एम्मा राडुकानुको विम्बल्डन यात्रा तेस्रो चरणमै अन्त्य भएको छ । सेन्टर कोर्टमा शीर्ष वरीयताकी आर्यना साबालेन्कासँग कडा प्रतिस्पर्धा गरे पनि राडुकानु सोझो सेटमा पराजित हुन पुगिन् ।

साबालेन्काले चौथो चरणमा स्थान बनाउन राडुकानुविरूद्ध उनले ७-६ र ६-४ को नतिजा हात पारिन् । २२ वर्षीया राडुकानुले सुरुवाती सेटमा सात सेट पइन्ट बचाउँदै अग्रता लिने अवसर पाए पनि निर्णायक क्षणमा चुकिन् । दोस्रो सेटमा ४-१ को अग्रता लिएकी उनले त्यसपछि लय गुमाउँदै खेल गुमाइन् ।

२०२१ को युएस ओपन विजेता राडुकानुले विश्व नम्बर एक साबालेन्काविरूद्ध लामो र कठिन र्‍यालीहरू खेलेकी थिइन् । तर ती प्रयासहरू अन्त्यतिर उनको शारीरिक थकानको कारण प्रभावहीन बन्ने । साबालेन्काले चौथो चरणमा बेल्जियमकी २४औं वरीयताकी एलिसे मर्टेन्ससँग प्रतिस्पर्धा गर्नेछन् ।