एन्फा अन्डर-१६ युथ लिगमा मनाङ-मर्स्याङ्दी क्लबको विजयी सुरुवात

असार २०, २०८२ |खेल ब्युरो
एन्फा अन्डर-१६ युथ लिगमा मनाङ-मर्स्याङ्दी क्लबको विजयी सुरुवात

काठमाडौं । मनाङ-मर्स्याङ्दी क्लबले एन्फा अन्डर-१६ युथ लिगमा विजयी सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा मनाङले भगवती क्लबलाई २-१ गोलको अन्तरले पराजित गरेको हो ।

मनाङको जितमा रोहन थापामगर र विवेक मगरले समान १-१ गोल गरे । भगवतीका लागि सरुन महतोले गोल फर्काए । खेलको ४०औं मिनेटमा रोहनको गोलमार्फत् मनाङले अग्रता लिएको थियो । 

५८औं मिनेटमा सरुनले भगवतीका लागि बराबरी गोल फर्काए । ८७ औं मिनेटमा विवेकले पेनाल्टीमार्फत् गोल गर्दै मनाङलाई २-१ को रोमाञ्चक जित दिलाएका हुन् । जितसँगै मनाङले पहिलो खेलबाट ३ अङ्क जोडेको छ ।

शुक्रवार नै सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबविरुद्ध ३-१ गोल अन्तरको जित हात पार्‍यो ।