काठमाडौं । जापानको आइची–नागोयामा २०२६ मा आयोजना हुने एसियाली खेलकुद (एसियाड)का लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ३० खेलमा सहभागिता जनाउने गरी नामावली दर्ता गरेको छ । एनओसीले आइतबार राति १२ बजेसम्मको समयसीमाभित्र खेल संघमार्फत ३० खेलको दर्ता प्रक्रिया सम्पन्न गरेको हो ।
यता युवा तथा खेलकुद मन्त्रालयले भने ३१ खेल दर्ता गरेको जानकारी गराएको छ ।
एनओसीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको समन्वयबिनै खेल संघहरूले आफैं दर्ताका लागि पत्र पठाएको जानकारी दिएको छ । खेलकुद मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भने कुनै पनि खेल संघलाई दर्ता हुन मन्त्रालय वा राष्ट्रिय खेलकुद परिषद्बाट आधिकारिक निर्देशन नदिएको स्पष्ट गरिएको छ । खेल दर्ता जुन ३० तारिखमा हुने भने पनि अहिले सम्म आधिकारिक पत्र प्राप्त नभएको र अवैध ओलम्पिक कमिटीबाट गरिएको पत्राचारलाई सरकारी मान्यता नदिइने बताएको छ ।
ओलम्पिकबाट दर्ता भएकामा एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, क्रिकेट, ईस्पोर्ट्स, गल्फ, जुडो, कबड्डी, कराते, पौडी, टेनिस, भलिबल लगायतका ३० खेल छन् । राखेपका सदस्य सचिव टंकलाल घिसिङको मौखिक निर्देशनपछि संघहरूले स्वतन्त्र रूपमा एनओसीमा गई दर्ता गरेको बताइएको छ ।
मन्त्रालयले भने स्वीकृतिबिना खेल दर्ता गरिनु अनुचित भएको र एनओसीमा हाल विद्यमान नेतृत्वको वैधानिकता नरहेको स्मरण गराएको छ । नेपाल ओलम्पिक कमिटीको गत पुसमा सम्पन्न निर्वाचनलाई सरकारले मान्यता नदिएको कारण मन्त्रालय र राखेप दुवैले सो नेतृत्वलाई अवैधानिक ठहर गरेका थिए । त्यसपछि राखेपले सातदोबाटोस्थित एनओसी कार्यालयमा तालाबन्दी समेत गरेको थियो । यद्यपि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको एनओसीलाई मान्यता दिइसकेको छ ।
यसैबीच, बहराइनमा आयोजना हुने युथ एसियाली खेलकुदका लागि पनि दर्ता प्रक्रिया नजिकिँदै छ । नेपाल ओलम्पिक कमिटीका अनुसार आगामी साउन ५ गतेभित्र खेलहरू दर्ता गरिसक्नु पर्नेछ । अघिल्ला एसियाडमा दुई रजत जितेको तेक्वान्डो यस पटक भने अहिलेसम्म दर्ता भएको छैन ।