काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यु-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले भुटान सामु ३ सय ५९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
सेलाङ्गोर टर्फ क्लबमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५८ रन बनाएको छ । नेपालका लागि रौनक श्रीवास्तवले सानदार शतकिय इनिङस खेले ।
खराब सुरूवात गरेको नेपालका लागि परिमार्जन यादव पहिलो ओभरको चौथो बलमा व्यक्तिगत २ रनको स्कोरमा आउट भएका थिए । प्रसिद्ध जैशीले ७ रन मात्र बनाउन सके ।
पाँचौं ओभरमा १७ रन जोड्ना नेपालले २ विकेट गुमाइसकेको थियो । दुबै ओपनरलाई सञ्जय दोर्जेले आउट गरेका थिए । तेस्रो विकेटका लागी शिवांश बजगाई र रौनक श्रीवास्तवले ९१ रनको साझेदारी गर्दै नेपाललाई अघि बढाए । ५२ बलमा ५ चौकमासहित ५४ रनको अर्धशतकीय योगदान दिएका शिवांश रनआउट भए ।
चौथो विकेटका लागी रौनक र सुगम बुढाथोकीबीच ७२ रनको अर्को सादनदार साझेदारी भयो । सुगम ३३ बलमा ३५ रन जोडेर तेन्जिन लोडेको बलमा क्याचआउट भए । रौनकले ९५ बलमा शतक पुरा गरे । रौनक १ सय ३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै १ सय ६८ रनमा क्याच आउट भए ।
पाँचौँ विकेटका लागि रौनक र जोय थापाले १ सय ३० बलमा १ सय ७० रनको शतकिय साझेदारी गरेका थिए । जोय ६१ र सचिन भट्ट ८ रनमा नटआउट रहे । भुटनका लागी सञ्जय दोर्जेले ३ विकेट लिए ।
दुबै टोली समूह चरणको आफ्ना अन्तिम खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । तीनै खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल आज भुटानलाई पराजित गर्दै अपराजित रूपमा समूह 'ए' को शीर्ष स्थानमा रहन चाहन्छ । यसअघि नेपालले सिंगापुर, जापान र इन्डाेनेसियामाथि सहज जित निकालेको थियो ।
भुटान भने समूहका सबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । डिफेन्डिङ च्याम्पियन तथा यसअघिका तीनै संस्करणको विजेता नेपालले यस पटक पनि सानदार प्रदर्शन गरेको छ ।
प्रतियोगितमा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । दुवै सेमिफाइनल खेल बिहीबार खेलिने छन् ।