एसीसी मेन्स यू १६ इस्ट जोन कप : भुटानविरुद्ध नेपालको २९८ रनको शानदार जित

असार १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
एसीसी मेन्स यू १६ इस्ट जोन कप : भुटानविरुद्ध नेपालको २९८ रनको शानदार जित

काठमाडौं । रौनक श्रीवास्तवको शानदार शतकको मद्दतमा नेपालले एसीसी मेन्स अन्डर-१६ इस्ट जोन कपमा भुटानविरुद्ध शानदार जित हात पार्दै अपराजित रहेर सेमिफाइनलमा स्थान बनाएको छ । नेपालले भुटानलाई २ सय ९८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । मलेसियामा जारी प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । यस जितसँगै शतप्रतिशत नतिजा हात पारेको नेपाल समूह एको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्‍यो । भुटान भने समूहका सबै खेलमा पराजित भयो ।

सेलाङ्गोर टर्फ क्लबमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५८ रन बनाएको थियो ।

खराव सुरुवात गरेको नेपालका लागि परिमार्जन यादव पहिलो ओभरको चौथो बलमा व्यक्तिगत २ रनको स्कोरमा आउट भएका थिए । प्रसिद्ध जैसीले ७ रन मात्र बनाउन सके । पाँचौं ओभरमा १७ रन जोड्दा नेपालले २ विकेट गुमाइसकेको थियो ।

दुवै ओपनरलाई सञ्जय दोर्जेले आउट गरेका थिए । तेस्रो विकेटका लागि शिवांश बजगाई र रौनक श्रीवास्तवले ९१ रनको साझेदारी गर्दै नेपाललाई अघि बढाए । ५२ बलमा ५ चौकामा सहित ५४ रनको अर्धशतकीय योगदान दिएका शिवांश रनआउट भए ।

चौथो विकेटका लागि रौनक र सुगम बुढाथोकीबीच ७२ रनको अर्को शानदार साझेदारी भयो । सुगम ३३ बलमा ३५ रन जोडेर तेन्जिन लोडेको बलमा क्याचआउट भए । रौनकले ९५ बलमा शतक पुरा गरे । उनी १ सय ३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै १ सय ६८ रनमा क्याच आउट भए । पाँचौँ विकेटका लागि रौनक र जोय थापाले १ सय ३० बलमा १ सय ७० रनको शतकीय साझेदारी गरेका थिए । जोय ६१ र सचिन भट्ट ८ रनमा नटआउट रहे । भुटनका लागि सञ्जय दोर्जेले ३ विकेट लिए ।

३ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२ ओभर ४ बलमा ९ विकेट गुमाउँदै ६० रन मात्र बनाउन सक्यो । भुटानका अन्तिम ब्याटर ब्याटिङका लागि नआएपछि नेपालको जित पक्का भयो ।

उसका उयोग छोफेल १० रनमा आउट भए । सिजाङ दावाले सर्वाधिक १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि कप्तान विपिन शर्माले १० ओभरमा ७ रन खर्चिएर ४ विकेट लिए । सचिन भट्ट तथा सुयोग भट्टराईले समान २ विकेट लिए ।

साविक विजेता नेपालले फाइनल प्रवेशका लागि बिहीबार समूह बीको उपविजेता मलेसियासँग प्रतिस्पर्धा गर्ने छ । अर्को सेमिफाइनल खेलमा सोही दिन हङकङ र सिंगापुर प्रतिस्पर्धा गर्ने छन् । फाइनल र तेस्रो स्थानका लागि असार २१ गते प्रतिस्पर्धा हुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.