काठमाडौं । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी फिफा क्लब विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको छ ।
मंगलबार बिहान सम्पन्न खेलमा साउदी अरेबियन क्लब अल-हिलालसँग अतिरिक्त समयमा ४-३ ले स्तब्ध भएपछि प्रिमियर लिग टोली सिटीको उपाधि रक्षा अभियानमा पूर्णविराम लागेको हो ।
एक मात्र अपराजित टोलीको रूपमा नकआउट चरणमा पुगेको पेप ग्वार्डिओलाको टोली प्रि-क्वार्टरफाइनलमा एसियन टोलविरूद्ध डिफेन्समा निकै खराब प्रदर्शन गरेको थियो । अल-हिलाल ऐतिहासिक जित हात पार्दै अन्तिम ८ मा प्रवेश गर्यो ।
खेल सुरू भएको १० मिनेटभित्रै कप्तान बर्नार्डो सिल्भाको गोलमार्फत सिटीले अग्रता बनाएको थियो । अल-हिलालले हृयान्डबल भएको भन्दै विरोध गरेपनि उक्त गोलले मान्यता पाएको थियो ।
पहिलो हाफमा पछि परेपनि अल-हिलालले दोस्रो हापमा पुनरागमन गर्यो । दोस्रो हाफ सुरू भएको ४४ सेकेन्डमै ब्राजिलियन स्ट्राइकर मार्कोस लियोनार्डोले अल-हिलालका लागी बराबरी गोल फर्काए ।
५२औं मिनेटमा बार्सिलोनाका पूर्व खेलाडी माल्कोमले गोल गर्दै अल-हिलाललाई अग्रता दिलाए । तर त्यसको ३ मिनेटमै एर्लिङ हालान्डले कार्नरबाट प्राप्त बलमा बराबरी गोल फर्काए ।
त्यसपछि म्यानुअल अकान्जीको हेडर पोष्टमा लाग्दा हालान्डको रिबाउन्ड प्रयासलाई अली लाजामीले लाइनबाट हटाउँदै अल-हिलाललाई जोगाए । नियमित समयमा दुबै टोलीले २-२ गोलको बराबरी खेलेपपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयमा चेल्सीका पूर्व डिफेन्डर कालिदु कुलीबालीले हेडमार्फत गोल गर्दै अल-हिलाललाई पुनः अग्रता दिलाए । तर सिटीका फिल फोडेनले भली गोल गर्दै पुनः खेल बराबरीमा ल्याए ।
अन्ततः खेलको ११२औं मिनेटमा मार्कोस लियोनार्डोले व्यक्तिगत दोस्रो गोल गर्दै अल-हिलालको ऐतिहासिक जित पक्का गरे । अल-हिलालका गोलकिपर बोनोले खेलभरी १० महत्वपूर्ण बचाउ गरे ।
उनले साविन्हो, गुन्डोगान र ग्भार्डिओलका प्रयासहरू रोकेर टिमलाई जोगाएका थिए । यससागै सिटी घर र्फकएको छ भने अल-हिलाल अब ब्राजिलियन क्लब फ्लुमिनेन्सविरूद्ध क्वार्टरफाइनल खेल्नेछ ।