साफ यु-२० महिला च्याम्पियन जित्ने विश्वास छ: प्रशिक्षक गुरूङ

असार १७, २०८२ |खेल ब्युरो
साफ यु-२० महिला च्याम्पियन जित्ने विश्वास छ: प्रशिक्षक गुरूङ

काठमाडौं । आगामी जुलाई ११ देखि २१ सम्म बंगलादेशको ढाकामा साफ यु-२० महिला च्याम्पियनसीपको दोस्रो संस्करण हुँदैछ । 

साबिक उपविजेतासमेत रहेको नेपाली टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक महिनादेखि तयारी गरिरहेको छ । नेपाली टोलीका प्रशिक्षक यामप्रसाद गुरूङले यसपल्ट डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई राम्रो चुनौति दिनसक्ने टोली बनेको उल्लेख गरेका छन् । 

साथै उनले यही टोलीले उपाधि पनि जित्ने आशा व्यक्त गरे । पछिल्लोपल्ट यो उमेरसमूहमा राष्ट्रिय टोलीका तीन सदस्य प्रीति राई, अमिशा कार्की र दीपा शाहीले खेलेका थिए । तर पनि यो टोलीको भविष्यमा राम्रो रहेको प्रशिक्षक गुरूङको विश्वास छ ।

पछिल्लोपल्ट सन् २०२३ मा साफ यु-२० महिला च्याम्पियनसीप आयोजना भएको थियो । उक्त च्याम्पियनसीपमा नेपाली टोलीले सेमिफाइनलमा भारतलाई हराउँदै बंगलादेशसँग उपाधि भिडन्त तय गरेको थियो । तर फाइनलमा भने नेपाली टोली ३–० को फराकिलो हार सामना गर्न बाध्य भयो । 

फेरि दुई वर्षपछि नेपाली टोली बंगलादेशमा नै दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्दैछ । नेपालका प्रशिक्षक गुरूङले त्यो फाइनल फ्लड लाइटमा हुँदा खेलाडीलाई खेल्न असहज भएको र उपाधि गुमाउनु परेको बताएका छन् । टोलीमा केही नयाँ अनुहार र उमेर समूहका उत्कृष्ट खेलाडी समावेश रहेको प्रशिक्षक गुरूङ बताउँछन् ।

तीन स्थानमा सम्पन्न खुला छनोटबाट ६० जनाको प्रारम्भिक टोली बनाइएको थियो । त्यहाँबाट अन्तिम २३ सदस्यीय नेपाली युवा टोली घोषणा भइसकेको छ । यो टोलीमा कुनै पनि उमेरसमूह नखेलेका तीन नयाँ अनुहार पनि रहेको प्रशिक्षक गुरूङ बताउँछन् । यो संस्करणमा भारतले सहभागी भएको छैन् । 

नेपाल र बंगलादेशसहित भुटान र श्रीलंकासहित कुल चार राष्ट्र छन् । लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि उचाल्ने छ । नेपालका लागि डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगै भुटान पनि कठिन प्रतिद्वन्द्वी बन्न सक्नेछ । किनकी भूटानले पछिल्लो समय विभिन्न उमेरसमूहमा राम्रो प्रदर्शन गरेको छ ।

उमेरसमूहको एकेडेमीबाट उत्पादित भुटानका टोलीले दक्षिण एसियाली फुटबलमा विस्तारै प्रभाव बढाउन थालेको छ । नेपाली टोलीकी सदस्य मिना देउवाले देशका लागि उपाधि दिलाउने लक्ष्य लिएको बताएकी छन् । 

लक्ष्यअनुरूप मैदानमा पनि खेल्ने उनको विश्वास छ । टोलीमा टिम कम्बिनेसनमा धेरै सुधार आएको र बलियो टोली बनेको उनी बताउँछन् । तयारीका लागि अझै एक हप्ता बाँकी रहेकाले थप सुधार आउने मीनाले अपेक्षा लिएकी छन् । उच्च मनोबलका साथ खेल्ने र उपाधि जित्ने मीनाको विश्वास छ ।

प्रशिक्षक गुरूङले सोमबार नै टोली घोषणा गरिसकेका छन् । टोलीको तीन गोलकिपरमा लिला जोशी, करुण बुढाथोकी र सुजता तामाङ छन् । अन्य सदस्यमा सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिषा राई, सीता रोकाया, कविता गुरूङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी, सेनु परियार, कुसुम खतिवडा, सुक्रिया मिया, मनिसा सेन, वर्षा ओली, पूर्णीमा राई, मिना देउवा र समीक्षा मगर छन् । 

नेपालले जुलाई ११ मा भुटानसँग खेल्दै उपाधि यात्रा थाल्नेछ ।