विम्बल्डन टेनिस सुरु, पहिलो दिन नै स्टार खेलाडी ड्यानियल मेद्भेदेव पराजित

असार १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
विम्बल्डन टेनिस सुरु, पहिलो दिन नै स्टार खेलाडी ड्यानियल मेद्भेदेव पराजित

काठमाडौं । हरेक वर्ष आयोजना हुने चार ग्राण्डस्लाममध्येको एक विम्बल्डन आजदेखि इंग्ल्यान्डमा सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन नै स्टार खेलाडी ड्यानियल मेद्भेदेव पराजित भएका छन्।

आज भएको पहिलो चरणको खेलमा बेन्जामिन बोन्जीले मेद्भेदेवलाई तीन-दुईको सेटमा पराजित गरेका हुन्। खेलको पहिलो सेट टाई भएपछि बेन्जामिनले टाइब्रेकरमा एक-शून्यको अग्रता बनाएका थिए। पहिलो सेटमा पछि परे पनि दोस्रो सेटमा ६-३ को जितसाथ मेद्भेदेवले बराबरी गरे। तर, तेस्रो सेट फेरी टाई भयो र टाइब्रेकरमा बेन्जामिनले नै जित हात पारे।

त्यसपछिको सेटमा मेद्भेदेवलाई ६-२ ले पराजित गरी बेन्जामिन दोस्रो चरणमा पुगेका हुन्। मेन्स सिंगलमा आज फ्रान्सेस टिफोइ र जोडर्न थोम्सनले जित हात पारेका छन्। स्टेफानो चिचिपास भने भ्यालेन्टिन रोजरसँग सोझो सेटमा नै पराजित भएका छन्। त्यसैगरी, महिलातर्फको खेलमा विश्व नम्बर एक अरिना सबलेङ्काले कारसनलाई ६-१ र ७-५ को सोझो सेटमा पराजित गरेकी छन्।

त्यसैगरी लिन्दा नोस्कोभाले बर्नार्डा पेरालाई ६-२ र ६-४ को सेटमा हराएकी हुन्। लात्भियाकी खेलाडी जेलेना ओस्तापेन्को २-१ ले पराजित भएकी छन्। विम्बल्डनमा पहिलो दिन ६४ खेल भइरहेका छन्। खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट हेर्न सक्नुहुनेछ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.