काठमाडौं । नेपाली खेलकुदको विकास अगाडि बढाउने उद्देश्यअनुरूप खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति, २०८२ सार्वजनिक गरेको छ । सोमबार आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नीति सार्वजनिक गर्नुभएको हो ।
राष्ट्रिय खेलकुद नीति, २०८२ मा ६ वटा उद्देश्य, १४ वटा नीति, २३ वटा रणनीति समावेश छ । यस्तै संघ, प्रदेश र स्थानीय तहको स्पष्ट अधिकार नीतिमा समावेश गरिएको जनाइएको छ ।
त्यस अवसरमा मन्त्री चौधरीले नेपाली खेलकूद क्षेत्रमा स्पष्ट अधिकार प्रत्यायोजनका साथै यसको व्यावसायिकरण गर्न खेलकुद नीति ल्याएको बताउनुभयो । पूर्वाधारको समान पहुँच, समावेशिता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार आवश्यकताअनुरूप नयाँ खेल नीति ल्याइएको उहाँको भनाइ छ ।
पछिल्लो राष्ट्रिय खेलकुद नीति, २०६७ एकात्मक प्रणालीमा आधार रहेकाले नयाँ खेलकुद नीति ल्याइएको मन्त्री चौधरीले बताउनुभयो । संघीयताको रचनाअनुरूप पछिल्लो नीति नरहेको उल्लेख गर्दै मन्त्री चौधरीले तीनै तहको सरकारलाई खेलकुदप्रति यस नीतिले स्पष्ट जिम्मेवारी पनि प्रदान गरेको पनि दाबी गर्नुभयो । खेलाडीलाई रोजगार र सामाजिक सुरक्षासँग जोड्न यो खेलकुद नीति महत्वपूर्ण रहने उहाँले बताउनु भयो ।
उहाँले तीन तहमा खेलाडी कल्याणकारी कोष खडा गर्ने जस्ता विषय पनि राष्ट्रिय खेलकुद नीति, २०८२ मा समावेश गरिएको बताउनु भयो । निजी क्षेत्रलाई खेलकुदमा समाजिक उत्तरदायित्वअन्तर्गत जोड्नलगायत परिकल्पना पनि नीतिमा गरिएको छ ।
गत असार ९ गते बसेको मन्त्री परिसदबाट उक्त नीति पास भएको थियो । यसअघि राष्ट्रिय खेलकुद नीति २०६७ थियो । खेल क्षेत्रमा संघीयता पूर्णरूपमा कार्यान्वयन हुन थालेपछि नयाँ खेलकुद नीति ल्याइएको हो । मन्त्रायलका सचिव डा. हरिप्रसाद लम्सालले एक समिति गठन गरेर नीति तयार पारिएको स्पष्ट पार्नुभयो । उहाँले यो नीतिअनुरूप केही पूर्वाधारहरू मात्र बनाउन सके मात्र यसको कार्यान्वयनमा सकारात्मक पक्ष बन्ने आशा व्यक्त गर्नुभयो ।