२०औं एसियाली खेलकुदका लागि खेल संख्या र नाम पेस गर्ने म्याद सकिँदै, एनओसी-मन्त्रालयको विवादले प्रक्रिया अलपत्र

असार १५, २०८२ |प्रदीप लेखी
२०औं एसियाली खेलकुदका लागि खेल संख्या र नाम पेस गर्ने म्याद सकिँदै, एनओसी-मन्त्रालयको विवादले प्रक्रिया अलपत्र

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले सन् २०२६ को सेप्टेम्बरमा जापानको आइचिरोनागोया शहरमा हुन लागेको २०औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेल संख्या र नाम पेस गर्न नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई पत्राचार गरेको म्याद भोलि सकिँदै छ । तर एनओसी र युवा तथा खेलकुद मन्त्रालयको विवादका कारण आजसम्म न संख्या तय भएको छ न नामावली नै । 

यस्तो अन्योलले कतै खेलाडीको भविष्य त बिग्रिने होइन भन्ने कौतुहल बढेको छ । हाङ्चोउमा सम्पन्न १९औं एसियाली खेलकुद प्रतियोगितामा करातेबाट एरिका गुरुङले एक रजत र महिला कबड्डीले पहिलो सहभागिताबाटै कांस्य पदक हात पारे । 

त्यसअघिसम्म एसियाली खेलकुदमा नेपाल एउटा कास्य पदकमा मात्र सीमित थियो । हाङ्चोउबाट फर्के लगत्तै राष्ट्रिय खेलकुद परिषद्ले २०२६ मा जापानमा हुने २० औं एसियाली खेलकुदमा नेपालले स्वर्णसहित दोहरो अंकमा पदक भित्र्याउने भन्दै मिसन २०२६ घोषणा गरेर सम्भावना भएका खेलाडी छनोट गरी प्रशिक्षण नै सुरू ग¥यो । तर २०औं एसियाली खेलकुदमा सहभागी हुने खेल संख्या र नामावली पेस गर्ने अन्तिम मिति सकिन लाग्दा समेत खेल सम्बद्ध निकायहरूलाई चासो नै छैन् ।

युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटीको विवादका कारण आजसम्म संख्या र नामावली पेश गर्ने प्रक्रिया अघि नै बढेको छैन । भोलि अर्थात् ३० जुनसम्म पनि यो टुंगो नलागे नेपाली खेलाडी र खेलकुदको हविगत के हुन्छ त ?

नेपाल ओलम्पिक कमिटिले एसियाली खेलकुदमा खेल संख्या पेस गर्ने अन्तिम मितिका बारे राष्ट्रिय खेलकुद परिषद्लाई लिखित जानकारी गराइसकेको छ । खेलकुद मन्त्रालय र मन्त्री तथा खेल संघहरूलाई समेत बोधार्थ जानकारी पठाइसकेको छ ।

राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी दुवैले विवादकै कारण खेलाडीको भविष्य बिग्रन नहुने बताइरहेका छन् । जतिसक्दो एनओसीको विवाद समाधान गरी एसियाली खेलकुदमा सहभागिता जनाउन पाउने खेलाडीको अधिकार सुनिश्चित गर्नुपर्ने उनीहरू बताउँछन् ।

आजसम्म प्रक्रिया नै अघि नबढे पनि भोलिसम्ममा संख्या र नामावली पेस हुने राखेपको विश्वास छ । त्यस लगत्तै दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद तथा ओलम्पिकको तयारीका लागि छुट्टै कमिटी निर्माण गर्ने राखेपले बताएको छ । जे होस्, दुई निकायबीचको विवादले खेल र खेलाडीको भविष्यलाई असर गर्नु हुँदैन । यस्तो छुट कसैलाई छैन् ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।