काठमाडौं । फिफा क्लब विश्वकपमा आइतबार लियोनल मेसी आफ्नो पूर्व क्लबविरूद्ध मैदान उत्रँदैछन् । प्रि-क्वार्टरफाइनलमा इन्टर मायामी र पेरिस सेन्ट जर्मेन पिएसजी आमनेसामने हुन लागेका हुन् ।
मेसी पेरिसमा खुसी नभएको भन्दै पीएसजीबाट मायामीमा आबद्ध भएका हुन् । युवा खेलाडीको बाहुल्यता रहेको पीएसजी च्याम्पियन्स लिगको विजेता हो । घरेलु टिम मायामीमा अनुभवी र बार्सीलोनाका पूर्वखेलाडीको उपस्थिति छ ।
पीएसजीको टच लाइनमा लुइस इनरिके रहनेछन् । जस्ले बार्सीलोनामा रहँदा मेसीसहित, लुइस स्वारेज, जोर्डी आल्बा र सर्जियो बुस्केटलाई प्रशिक्षण गराएका थिए । चारै जना अहिले मायामीमा छन् ।
उनीहरूलाई हाभियर मासेरानोले सम्हालिरहेका छन् । मासेरानो, इनरिकेले बार्सीलोनाबाट ट्रिबल जित्दा टिमका महत्वपूर्ण सदस्य थिए । अर्को रमाइलो के छ भने सन् २०१७ मा च्याम्पियन्स लिगमा बार्सीलोनाले पिएसजीलाई ६-एक गोलले पराजित गर्दा मेसी, स्वारेज, आल्बा र बुस्केट बार्सीलोनामा थिए ।
हाल मायामीका भेट्रान उक्त समयमा आफ्नो करिअरको शीर्ष विन्दुमा थिए । पीएसजीको इतिहासमा उक्त समय सबैभन्दा कालो रातको रूपमा रहेको थियो । किनकी अन्तिम १६ को पहिलो लेगमा पीएसजीले पेरिसमा ४-० गोलको जीत हात पारेको थियो । तर हालको पीएसजी फरक छ ।
ब्राड्ली ब्राकोला, डिजिरे डुहे, भिटिन्ह्या सम्मिलित पीएसजीले इनरिकेको सिस्टममा फ्रेस एनर्जी भर्ने काम गरे । जसका कारण पीएसजी, लिग वान र पहिलो पटक च्याम्पियन्स लिग जित्न सफल भयो । तर समूह चरणमा बोटाफोसँग १-० गोलको हारले पीएसजीलाई झस्काएको छ ।
यो हारलाई लामो थकित सिजनको असर रूपमा हेरिएको छ । आजको खेलमा पीएसजी फेभरेट देखिन्छ । एटालान्टास्थित मर्सिडिज बेन्ज स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने नौ बजे सुरू हुनेछ ।
प्रि-म्याच कन्फरेन्समा मासेरानोले, इनरिके आफ्नो करिअरमा भेटेकामध्ये एक उत्कृष्ट प्रशिक्षक भएको उल्लेख गरे । इनरिकेले यो खेल आफ्ना लागि विषेश रहेको प्रतिृकया दिए । आज राति पौने दुई बजे हुने अर्को प्रि-क्वार्टरफाइनलमा बायर्न म्युनिख र फ्लामेंगोबीच प्रतिस्पर्धा हुनेछ ।