दाङ । दाङको घोराहीमा पहिलो पटक आयोजित १० किलोमीटर खुल्ला रोड रेस प्रतियोगितामा पुरूष-महिला दुवैतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी प्रथम भएका छन् ।
खेलकुदको विकाससँगै खेलाडी पहिचान गर्दै प्रदेशमा दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रदेश खेलकुद परिषद् लुम्बिनीले शनिबार घोराहीमा आयोजना गरिएको लुम्बिनी राष्ट्रिय खुल्ला पुरूष-महिला १० किलोमीटर रोड रेस प्रतियोगिता अन्तर्गत पुरूषतर्फ त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठ र महिलातर्फ आर्मीकै निशा सार्की प्रथम हुनुभयो ।
श्रेष्ठले उक्त दूरी ३१ मिनेट ३० सेकेन्डमा र सार्कीले ३७ मिनेट ४० सेकन्डमा पार गर्नुभयो । यस्तै, पुरूषतर्फ आर्मीकै नरेन्द्र रावतले ३१ मिनेट ३९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो, नेपाल प्रहरीका नागेश्वर अहिरले ३१ मिनेट ४५ सेकेन्डमा दुरी पार गर्दै तेस्रो हुनुभयो ।
प्रतियोगितामा महिलातर्फ एपीएफकी पुष्पा भण्डारीले ३८ मिनेट १९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो, एपीएफकै दिपा परियारले ३९ मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै तेस्रो हुनुभयो ।
प्रतियोगितामा प्रथम हुने पुरूष महिला दुवैलाई जनही ५०-५० हजार रूपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी, दोस्रो हुनेले जनही ३०-३० हजार, तेस्रो हुनेले जनही २०-२० हजार, चौथो हुनेले जनही १५-१५ हजार र पाँचौँ हुनेले जनही १०-१० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरन गौतमले बताउनुभयो ।
१० किलोमीटर रोड रेस प्रतियोगिता घोराहीको विद्युत कार्यालयदेखि वडा नम्बर ६ को फचकपुरसम्मको रूट तय गरिएको थियो । प्रतियोगितामा विभागीय टिमसहित देशभरबाट चार सय पचास बढी धावकहरूको सहभागीता रहेको थियो ।