काठमाडौं । इस्टबर्न ओपनको फाइनलमा साविक विजेता टेरल फ्रिट्ज र लक्की लुजर जेनसन ब्रुक्सबीबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै अमेरिकी खेलाडी हुन् ।
शीर्ष वरीयताका फ्रिट्जले सेमिफाइनलमा स्पेनका अलेखान्द्रो डाभिनोभिच फोकिना माथि तीन सेटको जित हात पारेका हुन् । कीर्तिमानी तीन पटकका च्याम्पियन उनले पहिलो सेट ६-३ ले जित्दै उत्कृष्ट सुरूवात गरे । तर दोस्रो सेटमा लय गुमाए ।
यो सेट डाभिनोभिचले ६-३ ले नै जितेपछि खेल लम्बिएको थियो । तेस्रो सेटमा फ्रिट्जले पुनरागमन गर्दै ६-१ ले छैटौँ वरीयताका डाभिनोभिच फोकिनालाई हराएपछि फाइनल पुगेका हुन् ।
उनले दुई साताअघि मात्र वर्षको पहिलो उपाधिका रूपमा स्टुटगार्ट जितेका थिए । यस्तै ब्रुक्सबीले, चौथो वरीयताका युगो हमबर्टलाई तीन सेटमा स्तब्ध पारे । यो प्रतियोगिताको इतिहासमै लक्की लुजर फाइनल पुगेको यो पहिलो पटक हो ।
२४ वर्षीय ब्रुक्सबीले एक सेटले पछि परेको स्थितिबाट पुनरागमन गरेका थिए । पहिलो सेट उनले टाइब्रेकरमा ६-७ ले गुमाए । बाँकी दुइ सेट ६-४, ६-४ ले आफ्नो पक्षमा पारेका हुन् ।
ब्रुक्सबीले करियरको पहिलो एटीपी टुर उपाधि गत अप्रिलमा ह्युस्टनमा युएस मेन्स क्ले कोर्ट च्याम्पियनसिप जितेका थिए ।