जयदेव गौतमको नयाँ कृति 'कितावको अंगालो'मा सार्वजनिक

असार १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
जयदेव गौतमको नयाँ कृति 'कितावको अंगालो'मा सार्वजनिक

काठमाडौं । साहित्यकार तथा पत्रकार जयदेव गौतमको पुस्तक किताबको अँगालोमा लोकार्पण गरिएको छ।

नेपाल स्रष्टा समाजको आयोजनामा काठमाडौंमा आयोजित एक समारोहमा वरिष्ठ समालोचक प्रा.डा. गोविन्दराज भट्टराई, स्रष्टा समाजका अध्यक्ष तथा निवन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’, अध्येता प्रमोद प्रधान, कवि तथा समालोचक डा. गीता त्रिपाठीले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नु भएको हो ।

त्यसअवरमा प्रमुख अतिथि प्रा.डा. भट्टराईले नेपाली भाषा तथा साहित्यप्रति हरेक सचेत रहनु पर्ने र भाषा बिग्रन दिन नहुने बताउनुभयो । उहाँले विदेशमा रहेर पनि नेपाली साहित्यमा योगदान दिँदै आएका गौतमको प्रशंसा गर्नुभयो । अध्येता प्रमोद प्रधानले कृतिको विशेषता उल्लेख गर्दै गौतमले समीक्षा गर्दा कृतिका कमजोरीहरू समेत निश्पक्ष ढंगले उठाएको बताउनुभयो । उहाँका अनुसार गौतमको समीक्षा शैली सन्तुलित र आलोचनात्मक चेतले भरिएको छ।

समालोचक डा. गीता त्रिपाठीले पुस्तकमा ४२ वटा समीक्षा आलेख समेटिएको जानकारी दिँदै, यसलाई बौद्धिक, तथ्यपरक र अनुसन्धानमूलक समीक्षा ग्रन्थको रूपमा प्रस्तुत गर्नुभयो । उहाँले शारीरिक अस्वस्थता हुँदाहुँदै निरन्तर लेखनमा सक्रिय रहनु गौतमको समर्पणको उदाहरण भएको बताउनुभयो ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले विदेशमा रहँदा पनि नेपाली साहित्यको अध्ययन र समालोचनामा सक्रिय रहेका गौतमको जुझारुपनको प्रशंसा गर्नुभयो । उहाँले साहित्यिक लेखनमा निरन्तरता दिनु सबै स्रष्टाका लागि प्रेरणादायक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा लेखक जयदेव गौतमको अमेरिकास्थित निवासबाट पठाइएको लिखित मन्तव्य विजय थापाले वाचन गर्नुभएको थियो । मन्तव्यमा गौतमले समीक्षा विधालाई साहित्यिक क्षेत्रको आवश्यक अङ्गका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै कृतिसँग सम्बन्धित सबैप्रति आभार व्यक्त गर्नुभयो ।

किताबको अँगालोमा कृतिलाई सुन्दर स्वदेश पब्लिकेशनले बजारमा ल्याएको हो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.