फिफा क्लब विश्वकप: आजदेखि नकआउट चरणका खेल सुरू हुँदै

असार १४, २०८२ |खेल ब्युरो
फिफा क्लब विश्वकप: आजदेखि नकआउट चरणका खेल सुरू हुँदै

काठमाडौं । फिफा क्लब विश्वकपमा शनिबारदेखि नक आउट चरणका खेल सुरू हुँदैछन् । अन्तिम १६ को पहिलो खेलमा दुई ब्राजिलियन क्लब पाल्मेरेस र बोटाफो आमनेसामने हुनेछन् ।

पेन्सलभेनियाको फिलाडेल्फियास्थित लिङ्कन फाइनान्सियल फिल्डमा हुने खेल नेपाली समयअनुसार राति पौने दश बजे सुरू हुनेछ । पाल्मेरेस लियोनल मेसीको इन्टर मायामी रहेको समूह ए बाट विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो । 

उसले तीन खेलमा एकमा जीत र दुईमा बराबरीको नतिजा निकाल्दै पाँच अंक जोडेको थियो । उसले एफसी पोर्टोसँग गोलरहित बराबरी खेलको थियो । अल आलीलाई २-० गोलले पराजित गर्दा मायामीसँगको खेल दुई दुईको बराबरीमा सकिएको थियो । 

बोटाफो समूह 'बी' को उपविजेताका रूपमा प्रि-क्वार्टरफाइनल खेल्दैछ । उसले समूह चरणमा युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन-पीएसजीलाई १-० गोलले पराजित गर्दै सनसनी मच्चाएको थियो । 

सियाटल सान्डर्सलाई २-१ गोलले हराउँदा एट्लेटिको मड्रिडसँग भने १-०को हार बेहोरेको थियो । बोटाफोले तीन खेलमा दुईमा जित र एकमा हारसहित ६ अंक जोडेको थियो । 

दक्षिण अमेरिकी भिडन्तलाई लिएर ब्राजिलियन समर्थक उत्साहित छन् । पाल्मेरेस साओ पाउलो र बोटाफो रियो शहरका क्लब हुन् । पछिल्लो तीन वर्ष यी दुई टिम बारम्बार प्रतिस्पर्धा गरिरहेका छन् । 

दुई वर्षअघि पाल्मेरेसले बोटाफोबाट लिग उपाधि खोसेको थियो । सो सिजन बोटाफोले कोपा लिबर्तोदोरेसको अन्तिम १६ मा पाल्मेरेसलाई पराजित गर्दै बदला लियो । आज फिलडेल्फियामा आधुनिक ब्राजिलियन फुटबलको प्रदर्शन हुने अपेक्षा गरिएको छ ।