फिफा क्लब विश्वकपमा समूह चरणका खेल सकिए

असार १३, २०८२ |सुवास रोकाया
फिफा क्लब विश्वकपमा समूह चरणका खेल सकिए

अमेरिकामा जारी फिफा क्लब विश्वकपमा समूह चरणका खेल सकिएका छन् । ३२ टोली सहभागी प्रतियोगितामा अब १६ टोली मात्र बााकी रहँदा भोलिदेखि नकआउट चरणका खेल हुँदैछन् । चर्को गर्मी, खराब मैदान, दर्शकको न्यून उपस्थिति र चट्याङका कारण केही खेल प्रभावित भएपछि प्रतियोगिता विवादमा तानिएको छ ।

यद्यपि फिफाले यो प्रतियोगिताको पुरस्कारमा मात्र १ बिलियन अमेरिकी डलर खर्च गर्दा विजेता टिमले ४० मिलियन डलर पाउने छ । ठूलो पुरस्कार राशीले क्लबहरूलाई भने उत्साहित बनाएको छ ।

प्रतियोगिता अब फाइनलसहित दुई सातासम्म चल्ने नकआउट चरणमा प्रवेश गरेको छ । ७ बाट ३२ टोलीमा विस्तार भए पनि यस पटकको क्लब विश्वकप आलोचनाबाट भने अछुतो छैन । 

उत्तरी अमेरिकामा २०२६ मा हुने फिफा विश्वकपको तयारीका रूपमा लिइएको यो प्रतियोगितालाई कतिपयले केवल फिफाको आर्थिक लाभसँग जोड्दै आलोचना गरेका छन् । यद्यपि फिफाले भने विश्वव्यापी प्रतिस्पर्धा विकासका लागि आवश्यक रहेको तर्क गरेको छ ।

चरम गर्मीमा खेल हुँदा खेलाडीको स्वास्थ्यमा असर परेको छ । सार्लोटमा बायर्न म्युनिख र बेन्फिकाबीचको खेल ३६ डिग्री सेल्सियस तापक्रममा भएको थियो । चेल्सीका प्रशिक्षक एन्जो मारेस्काले सामान्य प्रशिक्षण गर्न पनि असम्भव भएको भन्दै चिन्ता व्यक्त गरे ।

बिजुली चम्किँदा पाँच खेल रोकिएर पुनः सुरु भएका थिए । कतिपय खेलमा दर्शकको सानदार उपस्थिति देखिए पनि धेरैजसो खेलमा नगन्य संख्यामा मात्र दर्शक मैदानसम्म पुगे ।

पेरिस सेन्ट जर्मेन पीएसजीले एट्लेटिको मड्रिडलाई ४-० ले हराएको खेलमा सबैभन्दा धेरै ८० हजार ६ सय १९ दर्शक पुगेका थिए । तर उल्सान एचडी र ममेलोडी सन्डाउन्सबीचको खेल हर्न केवल ३ हजार ४ सय १४ जनामात्र रंगशाला पुगे ।

पीएसजीका प्रशिक्षक लुइस एनरिके र रियल म्याड्रिडका खेलाडी जुड बेलिंघमले मैदानको अवस्थाबारे चर्को आलोचना गरेका छन् । एनरिकेले व्यंग्यात्मक शैलीमा एनबीएको कोर्टमा प्वाल भएको कल्पना गर्न नसकिने भन्दै फिफालाई चेतावनी दिए । बेलिंघमले बल राम्रोसँग नउफ्रिँदा घुँडामा असर परेको बताए ।

तर क्लबहरूले प्रतियोगितालाई गम्भीरतापूर्वक लिएका छन् । विशेषगरी ठूलो पुरस्कार राशीले क्लबहरूलाई आकर्षित गरेको हो । समूह चरणमा क्लबहरूले १ जित बराबरी २ मिलियन र बराबरी खेले १ मिलियन डलर प्राप्त गरे । म्यानचेस्टर सिटी समूह चरणमा तीनवटै खेल जित्ने एकमात्र टोली बन्यो । 

राउण्डअफ १६ मा पुग्ने टोलीले ७ दशमलव ५ मिलियन, क्वाटरफाइनलमा पुग्नेले १३ दशमलव १२५ मिलियन, सेमिफाइनल र फाइनल पुग्ने टोलीले २१-२१ मिलियन र विजेता टिमले ४० मिलियन डलर प्राप्त गर्नेछन् ।

प्रतियोगितामा हालसम्म युरोपियन क्लबहरूको वर्चस्व छ । अन्तिम १६ मा युरोपका ९ टोलीले स्थान बनाउादा दक्षिण अमेरिका ४, उत्तर अमेरिकाका २ र एसियाको १ टोलीले पुगेका छन् । अफ्रिका र ओसियानाबाट कुनै टिम अघि बढ्न सकेनन् ।

शनिबारदेखि क्लब विश्वकपमा राउण्ड अफ १६ का खेल हुादै छन् । गत वर्ष आईसीसी टी-२० विश्वकप आयोजना गर्दासमेत चर्को आलोचना खेपेको अमेरिकाले के यस पटक समूह चरणमा उत्पन्न विवाद र समस्यालाई नटआउट चरणमा हल गर्ला ?


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।