यस्ताे छ प्रधानमन्त्री ओलीको स्पेन भ्रमणकाे कार्यतालिका

असार १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
यस्ताे छ प्रधानमन्त्री ओलीको स्पेन भ्रमणकाे कार्यतालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट)’ शीर्षक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन सातदिने स्पेन भ्रमणमा शनिबार साँझ प्रस्थान गर्दै हुनुहुन्छ।

प्रधानमन्त्री ओली कत्तार एयरवेजमार्फत शनिबार साँझ ६ बजे दोहा हुँदै स्पेनको राजधानी म्याड्रिड पुग्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको टोलीमा परराष्ट्र सचिव, अर्थ सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, प्रमुख सल्लाहकार, स्वकीय सचिवसहित २१ सदस्यीय प्रतिनिधिमण्डल रहेको छ।

सम्मेलन र उच्चस्तरीय कार्यक्रमहरुः

स्पेनको सेभिया सहरमा आयोजना हुने सम्मेलनमा प्रधानमन्त्री ओलीले विभिन्न सत्रमा सम्बोधन गर्नुहुनेछ। असार १५ गते उहाँले नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा र स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजसँग द्विपक्षीय बैठकमा सहभागी हुने छन्। साँझ स्पेनका नरेशले आयोजना गर्ने स्वागत भोजमा समेत सहभागी हुने कार्यक्रम तय भएको छ।

असार १६ गते प्रधानमन्त्री ओलीले सम्मेलनको उद्घाटन सत्रमा भाग लिनुहुनेछ। दिउँसो उहाँले गेट्स फाउन्डेशनको आयोजनामा सम्बोधन गर्ने र स्तोनियाका राष्ट्रपति अलार कारिससहित इजिप्ट, पोर्चुगलका प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघ महासचिव गुटरेससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। साँझ स्पेन सरकारद्वारा आयोजना गरिने भोजमा पनि सहभागी हुनेछन्।

असार १७ गते उनले एलडिसी (अल्पविकसित मुलुक) समूहको उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुहुनेछ। त्यसपछि विभिन्न साइड इभेन्टमा सम्बोधन गर्ने कार्यक्रम छ, जसमा जलवायु वित्त, पानी तथा सरसफाइ र अन्तर्राष्ट्रिय विकास सहयोगसँग सम्बन्धित छलफलहरू समावेश छन्।

लगानी प्रवर्द्धन र नेपाली समुदायसँग भेट

असार १८ गते म्याड्रिड फर्किएपछि प्रधानमन्त्री ओलीले नेपाली तथा स्पेनी व्यवसायीहरूसँगको 'नेपाल-स्पेन व्यापार तथा लगानी प्रवर्द्धन साँझ' कार्यक्रममा सम्बोधन गर्दै नेपालमा लगानीका सम्भावनाबारे जानकारी दिनुहुनेछ।

असार १९ गते भ्रमणको अन्तिम दिन रियल म्याड्रिड फुटबल क्लबका अधिकारीहरूसँग भेटघाट र रंगशाला अवलोकन तथा स्पेनमा रहेका नेपाली समुदायसँग भेटघाट कार्यक्रम रहनेछ।

साेहि दिन राति १०:४५ बजे प्रधानमन्त्री ओली दोहा हुँदै स्वदेश फर्किनु हुनेछ। असार २० गते दिउँसो ४:४५ बजे काठमाडौं अवतरण गर्ने कार्यक्रम छ।

यो भ्रमणलाई नेपालको विकास साझेदारी, द्विपक्षीय सम्बन्ध विस्तार, जलवायु तथा वित्तीय सहयोग प्रवर्द्धन, र अन्तर्राष्ट्रिय नेतृत्व प्रस्तुत गर्ने अवसरको रूपमा हेरिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.