काठमान्डु गोर्खाजद्वारा रिटेन र रिलिज खेलाडीको नाम सार्वजनिक

असार १४, २०८२ |खेल ब्युरो
काठमान्डु गोर्खाजद्वारा रिटेन र रिलिज खेलाडीको नाम सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलको फ्रेन्जाइजी टिम काठमान्डु गोर्खाजले, करण केसीसहित ६ खेलाडी रिटेन गरेको छ । रिलिज गरेका ६ खेलाडीको नाम पनि गोर्खाजले सार्वजनिक गरेको छ ।

गोर्खाजले शनिबार रिटेन र रिलिज खेलाडीको सुचीबारे जानकारी गराएको हो । जसमा मार्की तथा कप्तान करण, भिम सार्की, साहब आलम, दिपेश कंडेल, रासिद खान र प्रतिक श्रेष्ठ छन् । 

सुमित महर्जन, विवेक केसी, शंकर राना, राजु रिजाल, कृष्ण कार्की र कृश कार्कीलाई रिलिज गर्ने निर्णय गरेको छ । यो पटक काठमान्डुले आफ्नो नाममा पनि केही परिवर्तन गरेको छ । गत सिजन टिमको नाम काठमान्डु गुर्खाज भएकोमा यो पटक गोर्खाज बनाइएको हो । 

पहिलो संस्करणको एनपीएलमा गोर्खाज नेट रन रेटको आधारमा पछि पर्दै प्ले अफ पुग्नबाट चुकेको थियो । पाँचौ स्थानमा लिग टुंग्याएको गोर्खाजले सात खेल मध्ये चारमा जित हात पारेको थियो । 

सुदुरपश्चिम रोयल्स, चितवन राइनोज र लुम्बिनी लायन्सले पनि रिटेन र रिलिज गरेका खेलाडीको नाम सार्वजनिक गरिसकेका छन् । आगामी भदौमा दोस्रो सिजनका लागि मिनि अक्सन हुनेछ । 

एनपीएल आगामी मंसिर पुषमा आयोजना हुनेछ । मिति भने घोषणा भएको छैन् । यो पटक टियु क्रिकेट मैदानमा फ्लड लाइटमा एनपीएल हुने बताइएको छ । साथै प्रतियोगिताको अवधि पनि एक महिनाको हुनेछ ।