काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी- राप्रपाकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ति नदेखाउन चेतावनी दिनुभएको छ ।
प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले मानव तस्करीको नाममा किन नेपाली जनतालाई लुटेको भन्दै प्रश्न गर्नुभयो ।
उहाँले गृहमन्त्रीलाई आफूले सोझो ठानेको भएपनि चम्मु बाठो पाएको जिकिर गर्नुभयो । उहाँले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न आफू पनि बच्ने र कमाइ पनि बचाउने गरी छानबिन समिति गठन गर्नुभएको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘गृहमन्त्रीज्युलाई मेरो एउटा प्रश्न छ, मानव तस्करीको नाममा निमुखा नेपाली जनतालाई किन लुटिँदैछ, यसको जवाफ छ, गृहमन्त्रीज्यु ? विपीले भन्नुभएको थियो, जो कार्यकर्ता नेताको ज्यादती सहेर बस्छन्, कि त ति चरम अवसरवादी हुन्, कि त दास हुन् । तपाईंहरू कुन वर्गमा पर्नुहुन्छ । गृहमन्त्रीज्युलाई मैले त सोझो ठानेको थिएँ, तर उहाँ त चम्मु बाठो हुनुहुँदो रहेछ । उहाँले त यस्तो समिति बनाउनु भयो की उहाँलाई फुत्किन र कमाई बचाउन धेरै सजिलो भयो । धेरै फुर्ति नदेखाउनुस् गृहमन्त्रीज्यु, एक दिन यस्तो समय आउँछ, पल्लो छेउबाट ओल्लो छेउ आउनु हुन्छ । तपाईंले दैनिक भिजिट भिसाका नाममा ५० लाख देखि एक करोडसम्म असुली गर्नुभएको छ । नेपाली जनतालाई बेच्नुभएको छ ।’
उहाँले गृहमन्त्रीले तत्काल राजीनामा माग गर्नुभयो ।