काठमाडौं । फ्रान्सका करेन्टिन मुटेटले पाँच वर्षदेखिको प्रतीक्षालाई अन्त्य गर्दै एटीपी टुरको फाइनलमा स्थान बनाएका छन् ।
मुटेटले, मयोर्का च्याम्पियनसिप्स टेनिसको सेमिफाइनलमा आलेक्स मिकल्सनको चुनौती सोझो सेटमा पार गरेका हुन् । विना वरीयताका मुटेटले पहिलो सेट ६-४ ले जितेका थिए ।
दोस्रो सेट प्रतिस्प्रर्धात्मक बन्यो । यो सेटमा मिकल्सनले पाँच ब्रेक पोइन्ट सिर्जना गरे । तर २३ वर्षीय मुमेट ७-६ ले सेट जित्दै दोस्रो पटक एटीपी टुरको फाइनल प्रवेश गरे ।
यसअघि सन २०२० मा रूसका आन्द्रे रूवलेभलाई पराजित गर्दै मुटेट दोहामा उपाधि नजिक पुगेका थिए । एक घन्टा ५५ मिनेटमा जित हात पारेपछि मुटेटले आफ्नो प्रदर्शनबाट एकदमै खुसी भएको प्रतिक्रिया दिए ।
मिकल्सन उत्कृष्ट खेलाडी भएको र उनीसँग कोर्ट सेयर गर्न पाउँदा गर्व लागेको मुटेटको भनाइ थियो । अब उनले नेदरल्यान्डसका टालो ख्रिक्सपरसँग खेल्नेछन् । डच खेलाडीले सेमिफाइनलमा क्यानडा फिलिक्स ओजे आलियासिमलाई ६-४, ६-४ को सेटमा पराजित गरेका हुन् ।
चोटका कारण २६ वर्षीय ख्रिक्स्पर फ्रेन्च ओपनपछि पहिलो प्रतियोगिता खेल्दैछन् । उनले जित हात पार्न कोर्टमा ९१ मिनेट बिताएका थिए ।