काठमाडौं । वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डन सुरू हुनुअघि पूर्व नम्बर एक इगा स्वान्तेकले ग्रास कोर्टमा आफ्नो उच्च प्रदर्शन जारी राखेकी छन् ।
पोल्यान्डकी स्वान्तेक, जाज्मिन पाउलोनीलाई सोझो सेटमा पराजित गर्दै बाड हमबर्ग टेनिसको फाइनल प्रवेश गरेकी हुन् । पाँच पटककी ग्रान्डस्लाम च्याम्पियन स्वान्तेक ग्रास कोर्टको उपाधि नजिक पुगेको यो पहिलो पटक हो ।
हाल विश्व वरीयताको चौथो स्थानमा रहेकी स्वान्तेकले इटालियन पाउलोनीबाट दुवै सेटमा कठिन चुनौती सामना गर्नुपरेन । उनले पहिलो सेट सहजै ६-१ ले जितिन् । दोस्रो सेट ६-३ ले आफ्नो पक्षमा पार्दै स्वान्तेकले फाइनलमा स्थान सुरक्षित गरेकी हुन् ।
उनले जितका लागि एक घण्टा २९ मिनेट खर्चिएकी थिइन् । पाउलोनीसँगका सबै पाँच भेटमा स्वान्तेकले विजयी हसिल गरेकी छन् । चार पटक फ्रेन्च ओपन र एक पटक युएस ओपन जितेकी स्वान्तेक ग्रासकोर्टमा पहिलो ग्रान्डस्लाम जित्ने लक्ष्यमा छन् ।
जितपछि स्वान्तेकले विम्बल्डनअघि प्राप्त मोमेन्टमले मनोबल उच्च बनाएको प्रतिकृया दिइन् । अब फाइनलमा स्वान्तेकले अमेरिकाकी जेसिका पिगुलासँग प्रतिस्पर्धा गर्नेछन् ।
पिगुलाले चेक खेलाडी लिन्डा नोस्कोभालाई तीन सेटमा हराएकी हुन् । उनले पहिलो सेट टाइब्रेकरमा ६-७ ले गुमाएकी थिइन् । बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरेकी पिगुलाले ७-५, ६-१ को जीत हात पारेकी हुन् । उनी वर्षको तेस्रो उपाधि नजिक छन् ।