काठमाडौं । फिफा क्लब विश्वकपअन्तर्गत समूह 'जी' को शीर्षस्थान पक्का गर्न बिहिबार राति इंग्लिस टोली म्यानचेस्टर सिटी र इटालियन क्लब युभेन्टस् प्रतिस्पर्धा गर्दै छन् ।
क्याम्पिङ वर्ल्ड स्टेडियममा खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरू हुनेछ । यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेका दुई टोलीको रोमाञ्चक भिडन्त जित्ने टोली समूह विजेता बन्ने छ । बराबरी भए युभेन्टस् शीर्षमै रहनेछ । हाल दुवै टोलीको ६-६ अंकरहे पनि युभेन्टस् गोलअन्तरमा अघि छ ।
सिटी र युभेन्टस् दुवैले अल अइन र विडाडलाई सहजै हराउँदै नकआउट चरणमा पुगेका हुन् । युभेन्टस्विरूद्ध पछिल्लो सयम सिटीले केही संघर्ष गरेको देखिन्छ । पछिल्ला ५ खेलमा युभेन्टस्विरूद्ध सिटीले जित हात पार्न सकेको छैन् ।
इटालियन टोलीले ३ खेल जितेको छ भने २ खेल बराबरीमा सकिएका छन् । गत सिजनको च्याम्पियन्स लिगमा पनि युभेन्टस्ले सिटीलाई २-० ले हराएको थियो ।
यो समूहको विजेताले राउण्ड अफमा समूह 'एच'को उपविजेता र उपविजेताले समूह 'एच'को विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । समूह 'एच'बाट रियाल मड्रिड, साल्जबर्ग र अल हिलालमध्ये दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।
पौने १ बजे नै हुने समूह 'जी' को अर्को खेलमा अल अइन र विडाड प्रतिस्पर्धा गर्नेछन् । यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।