इरानबाट ९ जना नेपाली स्वदेश फर्किए

असार १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
इरानबाट ९ जना नेपाली स्वदेश फर्किए

काठमाडौं । इरान र इजरायलबीच युद्धविराम भए पनि इरानबाट नेपालीहरू स्वदेश फर्किरहेका छन् । इरानस्थित भारतीय दूतावासको सहयोगमा नेपालीहरू स्वदेश फर्किरहेका हुन् ।

युद्धग्रस्त क्षेत्रबाट स्वदेश फर्कन पाउँदा उनीहरू खुसी देखिएका छन् । स्वदेश फर्किनुअघिका दुई दिनको अवस्था निकै कष्टकरपूर्ण रहेको उनीहरूको भनाइ छ ।

यसबीच परराष्ट्र मन्त्रालयले इरानमा रहेका १६ जना नेपालीमध्ये अहिलेसम्म ९ जना नेपाल फर्किसकेको जानकारी दिएको छ । सुरूमा ११ जना फर्काउने तयारी भए पनि एक जनाको कागजी प्रकिया नमिलेको र अर्कोको आन्तरिक काम भएकाले नेपाल नफर्किएको पराष्ट्र मन्त्रालयको भनाइ छ । 

अन्य पाँच जना भने विभिन्न मुद्दाका कारण इरानको कारागारमा रहेकाले नेपाली दूतावास दोहामार्फत पहल भइरहेको मन्त्रालयको भनाइ छ । दोहास्थित नेपाली दूतावासले पाँच जनाको राहदानीको प्रक्रिया मिलाएर इरान पठाइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै इजरायल र इरानबीच युद्धविराम भइसकेकाले दुवै देशमा रहेका नेपालीहरू सुरक्षित रहेको मन्त्रालयले जनाएको छ । यता इजरायलमा भएका करिब ७ हजार नेपालीमध्ये ९ सय ५८ जनालाई दूतावासले विभिन्न ८ वटा प्रश्न सोधेर उनीहरूको अवस्थाबारे जानकारी लिँदै स्वदेश फर्कने कि नफर्कने भनी फर्म भराएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित