काठमाडौं । शीर्ष वरियताका दुई खेलाडी बेन सेल्टन र डानियल अल्टमायर मायोर्का च्याम्पियनसिपबाट बाहिरिएका छन् ।
अमेरिकाका लर्नर टियानले, शीर्ष वरियताका सेल्टनलाई सोझो सेटमा हराउादै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । टियानले आफ्नै देशका प्रतिद्धन्दी सेल्टनलाई पहिलो सेटमा ६-४ ले पराजित गरेका थिए । दोस्रो सेट भने प्रतिस्पर्धात्मक बन्यो । १९ वर्षीय टियान एक -चार अंकले पछि परेको स्थितिबाट खेलमा फर्किएका थिए ।
टाइब्रेकरमा पुगेको यो सेट टियानले ७-६ ले जितेपछि सेल्टनको यात्रा समाप्त भएको हो । यो खेल एक घन्टा ४१ मिनेटसम्म चलेको थियो । टियानले शीर्ष दशमा रहेका खेलाडीलाई पराजित गरेको यो तेस्रो पटक हो । उनले यो वर्षको सुरुवातमा ड्यानियल मेदभेदेभ र कार्लोस अल्काराजलाई पनि पराजित गरेका थिए ।
अब टियानले क्वार्टरफाइनलमा फ्रान्सका करेन्टिन मुटेटसंग प्रतिस्पर्धा गर्नेछन् । मुटेटले जर्मनीका अल्टमायरलाई सोझो सेटमा स्तब्ध पारेका हुन् । तर उनका लागि जीत सहज भने भएन । कडा प्रतिस्पर्धा भएको दुवै सेट टाइब्रेकरमा पुगेको थियो । तर मुटेट ७-६, ७-६ ले खेल जित्दै क्वाटरफाइनल प्रवेश गरे । उनको सिजनको यो पहिलो क्वाटरफाइनल हो ।