काठमाडौं । जर्मनीको बोरुसिया डर्टमन्ड, समूह विजेताका रुपमा फिफा क्लब विश्वकपको नक आउट चरणमा प्रवेश गरेको छ ।
समूह एफमा रहेको डर्टमन्डले आज विहान भएको खेलमा दक्षिण कोरियाको उल्सान एच डी माथि एक-शून्य गोलको साँघुरो जीत हात पारेको हो । सिन्सिनाटीमा डर्टमन्डले २६ औं मिनेटमा गोलको अवसर सिर्जना गरेको थियो । सेरहु गिरासीको प्रहारलाई गोलकिपरले सफल हुन दिएनन् । २७ औं मिनेटमा जब बेलिङगमको प्रहार पनि बाहिरिँदा डर्टमन्ड निराश बनेको थियो । अन्तत: ३६ औं मिनेटमा डर्टमन्डले खेलमा अग्रता बनायो । बेलिङगमको क्रसमा डानियल स्भेन्सनले उत्कृष्ट फिनिस गरेका थिए ।
पहिलो हाफमा डर्टमन्डले खेल पूर्ण रुपमा आफ्नो नियन्त्रणमै राखेको थियो । पहिलो ४५ मिनेटमा उल्सानले 'सट अन टार्गेट' मा राख्न सकेन । उसका गोलकिपर जो ह्योन उ सवै भन्दा ब्यस्त रहे । उनले कुल सात प्रहारको बचाउ गरेका थिए । दोस्रो हाफमा गोल नभए पनि यही अग्रता कायम राख्दा स्भेन्सनको गोल नै डर्टमन्डको जीतमा निर्णायक बन्यो ।
पिचमा दबाब बनाएको डर्टमन्डले समग्रमा २८ पटक विपक्षीको पोस्टमा आक्रमण गरेको थियो । जसमा एघार पटक सट अन टार्गेट राख्यो । तर अग्रता दोब्बर बनाउन भने सकेन् । डर्टमन्ड तीन खेलबाट सात अंकका साथ समूह विजेता बनेको हो ।