प्रतिष्ठित टेनिस प्रतियोगिता 'विम्बल्डन' कान्तिपुर म्याक्सले प्रत्यक्ष प्रसारण गर्ने

असार १२, २०८२ |खेल ब्युरो
प्रतिष्ठित टेनिस प्रतियोगिता 'विम्बल्डन' कान्तिपुर म्याक्सले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । नेपाली टेलिभिजन इतिहासमा कान्तिपुर म्याक्सले पहिलोपटक प्रतिष्ठित टेनिस प्रतियोगिता विम्बल्डन-२०२५ को प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

असार १६ देखि २९ गतेसम्म लन्डनमा हुने ग्रास कोर्ट ग्रान्डस्लाम प्रतियोगिता पहिलो पटक आधिकारिक रूपमा नेपाली टेलिभिजमा प्रत्यक्ष प्रसारण हुन लागेको हो ।

चार ग्रान्डस्लाममध्ये सबैभन्दा पुरानो र प्रतिष्ठित प्रतियोगिता विम्बल्डन सन् १८७७ देखि सुरू भएको हो । यो प्रतियोगिताले हालसम्म १ सय ४८ वर्ष पूरा गरिसकेको छ ।

खेलप्रेमीहरूका लागि कान्तिपुर म्याक्सले दुई साता लामो यो प्रतियोगिताको प्रत्यक्ष प्रशारणसँमै प्रि-म्याच विश्लेषण पनि गर्नेछ । यसमा अनुभवी तथा नयाँ टेनिस खेलाडी र विज्ञहरूलाई सहभागी गराइनेछ ।

नेपालमा पनि टेनिसप्रति बढ्दो रूची र चार ग्रान्डस्लाम हेर्ने चलन रहेकाले विम्बल्डन-२०२५ को प्रसारणले यस खेलको लोकप्रियता झनै बढाउने विश्वास गरिएको छ । साथै, स्थानीय टेनिस क्लबहरूसँगको सहकार्य गर्दै खेलप्रति जनचासो र सहभागिता विस्तार गर्ने लक्ष्य पनि च्यानलले लिएको छ ।

हालै कान्तिपुर म्याक्सले इन्डियन प्रिमियर लिग (आईपीएल)-२०२५ को सफलता पुर्वक प्रत्यक्ष प्रसारण गरेको थियो । यसअघि पनि यस च्यानलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता प्रत्यक्ष प्रसारण गरिसकेको छ ।