काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराएर एपीएफले फाइनलमा स्थान पक्का गरेको हो ।
खेलको पहिलो सेटमा २५-२१ को जित निकालेको एपीएफले दोस्रो सेट २५-१८ ले जितेको थियो । खेलको तेस्रो सेटमा २५-२१ को सहज जित निकालेर एपीएफले फाइनलमा स्थान पक्का गरेको हो । गत हप्ता पोखरामा भएको प्रचण्ड कपको फाइनलमा पनि एपीएफले पुलिसलाई नै हराएर उपाधि जितेको थियो । एनभीए लिगमा भने पुलिस च्याम्पियन बनेको थियो ।
आजै भएको दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराएर न्यु डायमन्डले फाइनलमा एपीएफसँगको भिडन्त पक्का गरेको छ । हेटौंडामा भएको खेलको पहिलो सेटमा न्यु डायमन्डले २५-१५ को जित निकालेको थियो । त्यसैगरी दोस्रो सेट २५-१० ले जितेको कुमार राईको टिमले तेस्रो सेटमा २५-१६ को सहज जित हात पारेको थियो ।
अब फाइनल र तेस्रो स्थानका लागि हुने खेल भोलि बिहान हुनेछन् ।