काठमाडौं । इंग्ल्यान्डको वील्सायरस्थित डेभाइज क्रिकेट क्लब मैदानमा सम्पन्न 'द ब्रिज डिकेड कप २०२५' अन्तर्गत दोस्रो मैत्रीपूर्ण क्रिकेट खेलमा ब्रिज ११ ले डेभाइज क्रिकेट क्लबलाई १ सय २७ रनले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।
टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको डेभाइजको सुरूवात राम्रो भए पनि, ब्रिज ११ का ब्याट्सम्यानहरूले आक्रामक प्रदर्शन गरे। ब्रिज ११ तर्फबाट म्यानी गुरूङले २६ बलमा ५१ रन, दिवश गिरीले ३७ बलमा ६२ रन तथा कप्तान सन्दीप लामिछानेले २४ बलमा तिव्र गतिमा ५४ रन जोड्दै टोलीलाई विशाल योगफलतर्फ डोर्याए।
डेभाइजका जर्ज डनफोर्ड, क्यामरून ली र अल गवले समान रूपमा २-२ विकेट लिए। ब्रिज ११ ले निर्धारित ओभरमा ३०७ रनको लक्ष्य तय गरेको थियो।
जवाफी ब्याटिङमा ओर्लिएको डेभाइज क्रिकेट क्लबको सुरूवातमा थमस एन्ड्र्युले ७१ बलमा १०१ रनको शतकिय इनिङ खेले पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्। लुक ह्याम्बलिनले ३९ बलमा १० रनको योगदान दिए।
ब्रिज ११ का बलरहरूले संयमित प्रदर्शन गर्दै सन्दीप लामिछानेले १ विकेट, मोसेसले २ विकेट तथा अमित, विकास र मार्क बर्टनले समान रूपमा १-१ विकेट लिए।डेभाइजको इनिङ ३०८ रनको लक्ष्य पछ्याउने क्रममा १८० रनमै समेटिँदा ब्रिज ११ ले १२७ रनको फराकिलो जित हासिल गरेको हो।
खेलपछि कप तथा ट्रफी वितरण समारोहमा ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले १० वर्षे यात्रामा समाजप्रतिको उत्तरदायित्वका रूपमा खेल प्रतियोगिता गर्न पाएकामा सन्तुष्टि व्यक्त गरे।
कार्यक्रम संयोजक विज्ञान कार्कीले खेलमार्फत स्थानीय समुदाय र खेलप्रेमीबीच आपसी सम्बन्ध सुदृढ गर्न योगदान हुने विश्वास व्यक्त गरे। प्रतियोगितामा प्राविधिक सहयोग पुर्याएको म्याक्स क्रिकेट क्लबका कप्तान म्यानी गरूङले ब्रिज कपको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरे।
त्यस्तै ब्रिज कपका निर्देशक अमित प्रकाश घिमिरेले दशक लामो संस्थागत यात्रासँगै सामाजिक उत्तरदायित्वको क्षेत्रमा योगदान दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाए ।
ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका अध्यक्ष महेश गिरीले सबैलाई धन्यवाद दिंदै कम्पनीले आगामी दिनमा अझ व्यापक प्रतियोगिता आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे । गिरीले सन्दीप लामिछाने जस्तो अन्तर्राष्ट्रिय ख्यातिप्राप्त क्रिकेटरलाई आफ्नो ब्राण्ड एम्बासडर पाएकामा गर्व लागेको बताए ।
सो अवसरमा कोभेन्ट्री युनिभर्सिटी, लन्डनबाट २०२४, २०२५ को स्टुडेन्ट अफ द इयर उपाधि प्राप्त गरेका विप्लब खड्कालाई विशेष सम्मान गरियो ।