काठमाडौं । इन्टर मयामी फिफा क्लब विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो अमेरिकी क्लब बनेको छ ।
मंगलबार बिहान हार्ड रक स्टेडियममा ब्राजिलीयन टोली पाल्मेरससँग २-२ को रोमाञ्चक बराबरी खेलेपनि मेजर लिग सकर एमएलएस टोली मयामी राउन्ड अफ १६ मा स्थान बनाउँदै इतिहास रचेको हो । यस बराबरीले पाल्मेरस पनि समूह विजेताका रूपमा अघि बढेको छ ।
टाडेओ अल्लेन्डे र लुइस सुवारेजले गोल गर्दै मायामीलाई समूह ‘ए’ को उपविजेताका रूपमा अन्तिम १६ मा स्थान दिलाएका हुन् । यससँगै ममयामीले राउन्ड अफ १६ मा युरोपीयन च्यामिपयन पेरिस सेन्ट-जर्मेन पीएसजीसँगको भेट पक्का गरेको छ ।
१६औं मिनेटमा टाडेओ अल्लेन्डेले आफकोर्टबाट बल नियन्त्रणमा लिँदै शानदार फिनिस गरेका थिए । पहिलो हाफमा १-० को अग्रता बनाएको मयामीले ६५औं मिनेटमा दोस्रो गोल थप्यो ।
उरुग्वेका दिग्गज स्ट्राइकर स्वारेजले आफ्नो पुरानो शैलीमा उत्कृष्ट व्यक्तिगत प्रयासमा पाल्मेरसका धेरै डिफेन्डरहरूलाई छक्काउँदै गोल गरे । स्वारेजको प्रहार पाल्मेरसका गोलकिपर वेवर्टनको हातमा लागेपनि रोकिएन । २-० ले पछि परेको पाल्मेरसले खेलको अनत्यतिर शानदार कमब्याक गर्दै खेल बराबरी गर्यो ।
पाउलिन्होले ८०औं र त्यसको सात मिनेटपछि माउरिसियोले गोल गर्दै खेल बराबरीमा ल्याए । यससँगै पाल्मेरससले ३ खेलमा १ जित र २ बराबरीसहित ५ अंक जोडेर समूह 'ए'को शीर्ष स्थामना रहँदै अन्तिम १६ मा स्थान बनायो ।
अब उसले आइतबार राति समूह 'बी'को उपविजेता ब्राजिलीयन क्लब बोटाफोगोसँग प्रतिस्पर्धा गर्नेछ । समान नतिजा हात पारेको मायामीले आइतबारनै पीएसजीसँग खेल्ने छ ।
यसै समूहको अर्को खेलमा पोर्टो र अल अहलीले ४-४ गोलको बराबरी खेल्दै अंक बाढे । समान २-२ अंक जोडेका दुबै टोली प्रतियोगिताबाट बाहिरी सकेका छन् ।