काठमाडौं । ब्राजिलका किशोर जोआओ फोन्सेकाले पहिलो पटक ग्रास कोर्टमा टूर-स्तरीय जित दर्ता गरेका छन् ।
इस्टबोर्न टेनिसमा १८ वर्षीय फोन्सेकाले बेल्जियमका जिजु बर्गसलाई ३ सेटमा पराजित गरेका हुन् । फोन्सेकाले ६-७, ६-० र ६-३ ले नतिजा आफ्नो पक्षमा पारेका हुन् ।
पहिलो सेट टाइब्रेकमा गुमाएका फोन्सेकाले दोस्रो सेट 'बेगेल' सहित आफ्नो पक्षमा पारे । तेस्रो सेटमा ३-० को अग्रता बनाएपछि सहज जिततर्फ उन्मुख फोन्सेकाले ६-३ को नतिजासहित जित पक्का गरे ।
उनले यसअघि अष्ट्रेलियन ओपनमा विश्व नम्बर ९ आन्द्रे रूबलेभलाई हराउँदै सनसनी मच्चाएका थिए । फोन्सेकाले अब दोस्रो चरणमा गत वर्षका च्याम्पियन टेलर फ्रिट्जको सामना गर्नेछन् ।