काठमाडौं । युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजी क्लब विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।
गएराति सम्पन्न खेलमा फ्रेन्च टोली पीएसजीले अमेरीकी टोली सिएटल साउन्डर्समाथि २-० को सहज जित हात पार्दै राउन्ड अफ सिक्स्टिनमा स्थान पक्का गरेको हो । पीएसजी समूह बीको विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो ।
अघिल्लो खेलमा बोटाफोगोसँग अप्रत्याशित हार बेहोरेको पीएसजीले घरेलु टोली सिएटलविरूद्ध भने सानदार प्रदर्शन गर्यो । बोटाफोगोले पनि अन्तिम १६ मा स्थान बनाइसकेको छ ।
खेलको ३५औँ मिनेटमा भिटिन्हाको प्रहार कवा-रात्स-खेलियाको ढाडमा लागेर गोल भएपछि पीएसजीले अग्रता बनाएको थियो । ६६औँ मिनेटमा ब्राडली बारकोलाको पासमा अच्राफ हाकिमीले सजिलै गोल गरेपछि पीएजीले २-०को जित हात पार्यो ।
यससँगै घरेलु टोली सिएटल तीन वटै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ । पीएसजी तीन खेलमा ६ अंकसहित अघिल्लो चरणमा पुगेको हो । नकआउट चरणमा पीएसजीले अब आइतबार समूह ए को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ ।