काठमाडौं । डिफेन्डिङ च्याम्पियन नेपालले एसीसी मेन्स अन्डर-१६ इस्ट जोन कप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।
मलेसियामा जारी प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा नेपाली युवा टोलीले जापानलाई ९ विकेटले पराजित गरेको हो । यस जितसँगै नेपाल समूह एको शीर्ष स्थानमा उक्लिएको छ ।
कोजल टुन्कु जाफर ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको जापानले ३४ ओभर ३ बलमा सबै विकेट गुमाएर ८० रन बनाएको थियो । जापानलाई सस्तैमा समेट्न शुभम खनालले नेपालका लागी सानदार बलिङ गरे । उनले ५ विकेट लिँदै जापानलाई दबाबमा राखेका थिए ।
ओपनर ह्युगो तानिकेली ४ रन बनाएर अभय यादवको सिकार बने । मोन्टी हराहिन्जेले खाता खोल्न सकेनन् । कोबायाशी डोगेट ८ रनमा आउट भए । ल्यूक मिनार्ड र स्काइलर नाकायामा कुक समान ५-५ रनमा बाहिरिए ।
कप्तान चार्ली ह्याहिन्जेले सर्वाधिक ३६ रनको योगदान दिए । इशान लाल १ रनमा रनआउट भए । ग्याबी हाराहिन्जे १३ रनमा शुभम खनालको एलबीडब्यू धरापमा परे । एरिक ह्यारिसन गोल्डेन डक हुदा शुभम ह्याट्रिक नजिक पुगेका थिए । जुटो बलले खाता खोल्न सकेनन् । ताइगा हेग २ रनमा नटआउट रहे । जापानका ९ जना ब्याटरले दोहोरो अंकमा रन स्कोर गर्न सकेनन् ।
नेपालका लागी शुभमले १० ओभरमा ३ मेडन राख्दै १५ रन खर्च गरेर ५ विकेट लिए । अभयले २ तथा सुसिल रावल र कप्तान विपिन शर्माले १-१ विकेट लिए ।
जवाफमा नेपालले १४ ओभर २ बलमा केवल १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । जोय थापा १ रनमा डोगेटको सिकार भएपनि दोस्रो विकेटका रूपमा शिवांश बजगाईं र प्रसिद्ध जैशीले ६९ बलमा ७६ रनको अविजित साझेदारी गर्दै नेपादललाई सहज जित दिलाए । शिवांश ३८ र प्रसिद्ध ३३ रनमा नटआउट रहे ।
यस अघि पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो भने जापानले भुटानमाथि २ सय १५ रनको फराकिलो जित हात पारेको थियो ।
यससँगै नेपालले २ खेलमा २ जितसहित ४ अंक जोडेको छ । नेपाल समूह एको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा जापानको २ अंक छ ।
नेपाल यस प्रतियोगिताको अघिल्ला तीन संस्करणको विजेता हो । चौथो पटक उपाधि जित्ने अभियानमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा आइतबार इन्डाेनेसियासँग खेल्ने छ भने समूहको अन्तिम खेलमा आगामी मंगलबार भुटानको सामना गर्नेछ ।