काठमाडौं । दुई विभागीय टिम नेपाल पुलिस र एपीएफ नेकोस कप महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा आमने-सामने हुने भएका छन् ।
हैटौंडामा सोमबार भएको खेलमा पुलिसले समूहको अन्तिम खेलमा गण्डकी प्रदेशमाथि तीन-शून्यको सोझो सेटमा पराजित गर्यो । यो जितले पुलिस समुह ए को विजेता बनेसँगै अन्तिम चारमा समूह बी को उपविजेता एपीएफ प्रतिद्वन्द्वी पाएको हो । अघिल्लो साता पोखरामा सम्पन्न प्रचन्ड कपमा एपीएफ, पुलिसलाई पराजित गर्दै च्याम्पिय बनेको थियो । समूह विजेता बन्ने क्रममा पुलिसले, गन्डकीलाई पहिलो सेटमा २५-१२ ले हराएको थियो ।
सुरुवातबाटै हाबी भएको पुलिस विरुद्ध गण्डकीले पुनरागमन गर्न सकेन् । दोस्रो सेट २५-११ ले जितेको पुलिसले तेस्रो सेट २५-१९ ले आफ्नो पक्षमा पारेको थियो । हारका बाबजुत गण्डकी पनि समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । अब अन्तिम चारमा उसको भेट न्यू डायमन्ड स्पोटर्स एकेडेमीसँग हुनेछ । न्यु डायमन्ड आजै भएको खेलमा मधेश प्रदेशलाई सोझो सेटमा हराउँदै समुह बी को विजेता बनेको हो ।
न्यू डायमन्डले पहिलो सेट सहजै २५-६ ले जितेको थियो । दोस्रो सेटमा मधेश केही प्रतिस्पर्धात्मक बन्न खाज्यो । तर सलिना श्रेष्ठको उत्कृष्ट प्रदर्शनको मद्दतमा न्यु डायमन्ड २५-१८ ले विजयी भयो । तेस्रो सेट २५-८ ले जितेपछि न्यू डायमन्ड अपराजित रहँदै सेमीफाइनल प्रवेश गरेको हो । यो समुह बाट एपीएफ उपविजेता बन्यो । पुलिस र एपीएफबीचको पहिलो सेमिफाइनल भोलि विहान ७ बजे हुनेछ । न्यू डायमन्ड र गण्डकी साढे ९ बजे भिड्नेछन् ।