नेकोस कप राष्ट्रिय महिला भलिबल : एपीएफको पहिलो जित, मधेश प्रदेश सोझो सेटमा पराजित

असार ८, २०८२ |खेल ब्युरो
नेकोस कप राष्ट्रिय महिला भलिबल : एपीएफको पहिलो जित, मधेश प्रदेश सोझो सेटमा पराजित

काठमाडौं । नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले पहिलो जित हात पारेको छ । हेटौंडामा आज भएको खेलमा एपीएफले मधेश प्रदेशलाई सोझो सेटमा हराएको हो ।

पहिलो दिनको खेलमा न्यु डायमन्डसँग पराजित भएको एपीएफ दोस्रो दिन खेलभरि नै हाबी भयो । उसले पहिलो सेटमा २५-८ को फराकिले जित हात पारेको थियो । एपीएफले दोस्रो सेट २५-११ र तेस्रो सेट २५-७ ले जितेर खेलमा रवाफिलो प्रदर्शन गर्‍यो ।

एपीएफको अट्याकलाई डिफेन्ड गर्न नसकेपछि मधेश फराकिलो अन्तरले पराजित भएको हो । यस्तै आजको दोस्रो खेलमा अरुणा शाहीको नेतृत्वमा रहेको गण्डकीले बागमती प्रदेशलाई हराएको छ । गण्डकीले पनि खेलमा फराकिलो जित हात पार्‍यो । उसले पहिलो सेटमा २५-११ को अग्रता बनाएको थियो भने दोस्रो सेटमा पनि २५-११ कै अग्रतासहित बागमतीलाई पराजित गरेको हो ।

त्यसैगरी तेस्रो सेटमा बागमतीले सुधारिएको प्रदर्शन गर्दै १९ अंक बनाउँदा गण्डकीले खेल समाप्त गरेको थियो ।

नेपाल स्पोर्ट्स सेन्टरले आयोजना गरेको प्रतियोगितामा भोलि समूह चरणका अन्तिम दुई खेल हुनेछन् । सहभागी भएका ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहमा शीर्ष दुई स्थानमा रहने टिमले सेमिफाइनल खेल्नेछन् ।