काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले टियु क्रिकेट मैदानको कार्य प्रगति राम्रो भएको बताउनुभएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको आज अनुगमन गर्दै उहाँले त्रिवि मैदान समयमै सम्पन्न हुनेमा अझै स्पष्ट नभए पनि सरकारले प्राथमिकतामा राखेको बताउनुभएको हो ।
सरकारले तीन सय दिनमा बनाउने भने पनि गत जेठ २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको थियो। त्यसअनुरुप अहिले तीन सिफ्टमा काम भइरहेको ठेकेदार कम्पनीले जानकारी दिँदै आइरहेको छ। तर काठमाडौंले अहिले निरन्तर वर्षा भइरहेकाले समयमा सम्पन्न हुनेमा भने आशंका बढेको छ।
मन्त्री चौधरीले मूलपानी क्रिकेट मैदानको कार्य प्रगतिबारे भने असन्तुष्टि व्यक्त गर्नुभएको छ। निर्माण थालिएको झण्डै दुई दशक पुग्न लागे पनि मूलपानीको निर्माण सकिएको छैन ।
त्रिवि मैदानमा यो वर्ष दुईतर्फ प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम भइरहेको छ । आउँदो आर्थिक वर्षका लागि सरकारले ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।