इजरायल-इरान युद्ध : अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्गमा निगरानी बढाइयो

असार ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
इजरायल-इरान युद्ध : अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्गमा निगरानी बढाइयो

काठमाडौं । इरान र इजरायलबीच चलिरहेको युद्धका कारण विस्थापित भएकाहरु नेपाल आउन सक्ने भन्दै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्गमा समेत निगरानी बढाएको छ ।

इरान र इजरायलबीचको युद्धबाट विस्थापित भएकाहरु शरणार्थीका रुपमा नेपाल आउन सक्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च निगरानी बढाइएको हो । परराष्ट्र मन्त्रालयले नेपालबाट इरान र इजरायलको यात्रा नगर्न सचेत गराइसकेको छ । त्यस्तै मध्य पूर्वीका अन्य देशहरुको पनि यात्रा नगर्न सचेत गराएको छ । इजरायल र इरान वैदेशिक रोजगार अथवा भ्रमणका लागि जाने तयारी रहेको नेपालीलाई त्यहाँको अवस्था जटिल रहेसम्म नजान भनिएको हो । मध्यपूर्वका अन्य देशमा भ्रमण तथा रोजगारका लागि जाने तयारीमा रहेकाहरुलाई पनि तत्काल भ्रमण स्थगित गर्न परराष्ट्रले भनेको छ ।

नेपाल प्रवेशका लागि भने कुनै पनि देशका लागि रोक लगाइएको छैन । गृह मन्त्रालयका अधिकारीहरुका अनुसार विमानस्थल र स्थलमार्गको अध्यागमनमा अहिले युद्ध भइरहेका देशबाट आउनेहरुमाथि निगरानी मात्रै राखिएको हो । नेपाल सरकारले अहिले १२ देशका नागरिकलाई नेपाल प्रवेशका लागि अनअराइभल भिसामा रोक लगाउँदै आएको छ । नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालियाका नागरिकलाई नेपाल आएर भिसा लिन रोक लगाइएको हो । लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, सिरिया र अफगानिस्तानका नागरिकले पनि नेपाल आउनुपूर्व नै भिसा लिनुपर्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.