काठमाडौं । फिफा क्लब विश्वकप-२०२५ अन्तर्गत समूह ‘एच’को खेलमा आज राति स्पेनिस जायन्ट रियाल मड्रिड र म्येक्सिकन क्लब पाचुकाबीच प्रतिस्पर्धा हुँदैछ ।
अमेरिकाको क्यारोलिनास्थित बैंक अफ अमेरिका स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजेबाट सुरू हुनेछ ।
दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन् । अफ्नो पहिलो खेलमा रियालले साउदी अरबको अल हिलालसँग १-१ गोलको बराबरी खेलेको थियो भने पाचुका, साल्जबर्गसँग २-१ ले पराजित भएको थियो । रियाल र पाचुका ६ महिनापछि फेरि आमनेसामने हुन लागेका हुन् ।
गत डिसेम्बरमा अन्तरमहादेशीय कपको फाइनलमा रियालले पाचुकालाई ३-० ले हराउँदै उपाधि जितेको थियो । सो खेलमा एम्बाप्पे, रोड्रिगो र भिनिसियसले गोल गरेका थिए । तर चोटका कारण एम्बाप्पेले यो खेल गुमाउने छन् । उनी समूह चरणको अन्तिम खेलमा मैदानमा फर्किने अपेक्षा गरिएको छ ।
पाचुका २०२४ को कन्काकाफ च्याम्पियन्स कप जितेर प्रतियोगितामा आइपुगेको हो । प्रशिक्षक गुइलेर्मो आल्माडा बिदा भएपछि पाचुकाको जिम्मेवारी अन्तरिम कोच जाइम लोजानोको काँधमा छ । यता रियाल पछिल्ला ६ खेलमध्ये ५ मा अपराजित रहेको छ । अल हिलालविरूद्धको बराबरी भने उसका लागि निराशजनक रह्यो ।
यसै समूहको अर्को खेलमा सोमबार बिहान पौने ४ बजे अल हिलाल र साल्जबर्ग प्रतिस्पर्धा गर्ने छन् । यस्तै समूह ‘जी’ अन्तर्गत आज राति पौने १० बजे इटालियन क्लब युभेन्टसले मोरक्कोको क्लब विदादको सामना गर्नेछ ।