स्कटल्यान्ड भ्रमण सकेर फर्कियो नेपाली टोली

असार ८, २०८२ |खेल ब्युरो
स्कटल्यान्ड भ्रमण सकेर फर्कियो नेपाली टोली

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिम स्कटल्यान्ड भ्रमण सकेर आज स्वदेश फर्किएको छ । नेपालले घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग लिग टु तथा टी ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो ।

लिग टुका चार खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ३ मा जित हात पारेको थियो । नेदरल्यान्ड्सविरुद्ध दुवै खेल जितेको नेपाल स्कटल्यान्डविरुद्ध भने एक खेलमा पराजित भएको थियो ।

अवे खेलमा प्राप्त यो सफलताले अंक तालिकामा नेपालले १२ अंक प्राप्त गरेको छ । नन्दन यादवले यही सिरिजमार्फत एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरे ।

सिरिजको तयारीका लागि नेपाल दुई साताअघि नै यूके गएको थियो । स्थानीय टिमसँग खेलेका पाँच अभ्यास खेलले सिरिजमा सहयोग पनि भयो ।

यस्तै नेपालले स्कटल्यान्ड ‘ए’सँग पनि दुई अभ्यास खेल खेलेको थियो । लिग टु सिरिजपछि स्कटल्यान्डमै भएको टी ट्वेन्टी आईमा नेपाल दोस्रो भयो । उक्त त्रिकोणात्मक सिरिजमा पनि नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्ड नै सहभागी थिए । टी ट्वेन्टी विश्वकप छनोटको तयारीका लागि खेलिएको यस सिरिजका चार खेलमा नेपालले दुईमा जित र दुईमा हार बेहोर्‍यो ।

नेपाली टिम आगामी दिनमा पनि व्यस्त हुनेछ । क्यानको क्यालेन्डरअनुसार नेपाली टिम अब टी ट्वेन्टी विश्वकपको तयारीका लागि श्रीलङ्का भ्रमणमा जानेछ । त्यसपछि भारत र अस्ट्रेलियामा अभ्यास खेल खेल्ने तालिका छ । सेप्टेम्बरमा नेपालले वेस्ट इन्डिजसँग तीन खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । नेपालले टेस्ट मान्यताप्राप्त राष्ट्रसँग पहिलो पटक सिरिज खेल्न लागेको हो । वेस्ट इन्डिजविरुद्धको सिरिज विश्वकप छनोटको अन्तिम तयारी पनि हो ।