काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको आरोपमा पक्राउ परेकी अमला रोकालाई काठमाडौं जिल्ला अदालतले २ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
गत शुक्रबार पक्राउ परेकी रोकालाई सीआईबीले हिजो अदालत पेश गरेको थियो । यसअघि चलेको मुद्दामै फरार प्रतिवादी बनाइएकी रोकालाई आज भएको थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले धरौटीमा छोडन आदेश दिएको हो । रोल्पाकी अमलाले सुन काण्डकै मुख्य आरोपी चिनियाँ मुलकका वेल्जियम नागरिक दावा छिरिङसँग विवाह गरेकी थिइन । दावाले अमलाको नाममा ठमेलस्थित होटल भियना सञ्चालनमा छ । रोक्कामाथि सम्पत्ति शुद्धीकरणबाट पनि कारवाही हुने भएको छ । होटल सञ्चालनमा देखिएकाले त्यसको लगानी स्रोत र अन्य सम्पतिमाथि पनि सम्पत्ति शुद्धीकरण विभागले कारवाही चलाउने भएको हो । २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि बरामद भएको ६० किलो सुन प्रकरणको सीआईबीले दुई चरणको अनुसन्धान गरेर मुद्धा दायर गरेको थियो । अमलाका श्रीमान् दावा यसअघि नै पक्राउ परेर थुनामा छन् ।